Light Nepal

जहाँ पानी छ

ह्यामिल्टन, क्यानडा, १६ जेठ / विश्वका धेरै भागमा बढ्दो माग पूरागर्न थप परम्परागत स्वच्छ पानीको स्रोत सामान्यतया उपलब्ध छैन । पर्याप्त स्वच्छ पानीको अभावका कारण आर्थिक विकासलाई सीमित बनाउने भन्दा पर पनि द्वन्द्व, सामाजिक अस्थिरता तथा बसाई सराई हुने हुँदा अरबौँ व्यक्तिको समृद्धिमा चुनौती दिनेछ । पानी स्रोतको योजनामा पूर्णतया पुनः सोचाई तथा अपरम्परागत पानी स्रोतको सिर्जनात्मक उपयोगलाई जोड दिने व्यवस्थापन नै यो चुनौती समाधान गर्ने उपाय हो ।

समुद्रको पानी वा भूमिगत पानीबाट नुन निकाल्ने कामबाट आरम्भ गर्दा स्वच्छ पानीको ठूलो अपरम्परागत स्रोतको बढ्दो सङ्ख्या पाउन सकिन्छ । एक सयभन्दा बढी मुलुकमा अहिले नै पानीबाट नुन निकाल्ने १८ हजार संयन्त्रबाट ३२ अर्ब घनमिटर (८.४५ हजार अर्ब ग्यालन) स्वच्छ पानी उत्पादन भइरहेको छ । यो नियागरा फल्सबाट वार्षिकरुपमा बग्ने पानीको एक तिहाई मात्रा हो ।

विश्वमा ४४ प्रतिशत नुन निकालिएको पानी मध्यपूर्व तथा उत्तर अफ्रिकामा उत्पादन हुन्छ र नयाँ संयन्त्रअरू एसिया, अमेरिका ल्याटिन अमेरिकामा स्थापना भइरहेका छन् । विश्वभर पानीबाट नुन निकाल्ने क्षमता वार्षिकरुपमा औसतमा सातदेखि नौ प्रतिशत वृद्धि भइरहेको छ ।

नुन निकालिएको पानीको सिचाइँको लागत परम्परागत स्वच्छ पानीको भन्दा महङ्गो देखिएपनि हालको अध्ययनले यो घटिरहेको देखाएको छ । केही दशक अगाडि नुन निकालिएको पानीको मूल्य प्रति घनमिटर (२६४ ग्यालन) पाँच अमेरिकी डलरभन्दा बढी पथ्र्यो भने हाल यो पचास अमेरिकी सेन्टभन्दा पनि कम छ ।

स्वच्छ पानीको दोस्रो सम्भावित विकल्प तुसारो हो । हावाबाट पानीको अंश प्राप्त गर्न जालीको ठाडो बार लगाउन सकिन्छ र यहाँ आएका थोपा ट्याङ्क वा वितरण प्रणालीमा जम्मा गर्न सकिन्छ । सुखा क्षेत्रमा पनि तुसारो निकै सामान्य कुरा भएकाले तुसारो खेती प्रणाली ग्रामीण समुदायमा प्रत्यक्षरुपमा स्वच्छ पानी उपलब्ध गराउने व्यवहारिक र लागत प्रभावकारी उपाय हुनसक्छ ।

केही मुलुकले यो प्रविधिको फाइदा लिइसकेका छन् । केप भर्डमा यस्तो सङ्कलन प्रणालीको एक वर्ग मिटरले अधिक उत्पादनको समयमा दैनिकरुपमा १२ लिटर (३.२ ग्यालन) पानी दिएको छ । इरिट्रियामा एक हजार ६०० मिटरको जालीले दैनिकरुपमा १२ हजार लिटर पानी दिएको छ । मोरोक्कोको हिमाली क्षेत्रमा पानीको उपलब्धता निकै कम भए पनि वर्षको छ महिना पर्याप्त तुसारो पर्ने भएकाले सन् २०१५ मा विश्वको सबैभन्दा ठूलो तुसारो सङ्कलन तथा वितरण प्रणाली स्थापना गरिएको छ ।

हाल तुसारो खेतीको लागत प्रतिघनमिटर पानीका लागि एकदेखि तीन अमेरिकी डलर पर्छ । यस्ता उपकरणको बजार बढ्दा र थप गाउँले जनताले यसको सञ्चालन तथा मर्मतसम्भार गर्दा यसको लागत अझै घट्ने अनुमान गरिएको छ । साधारण भएकाले तुसारो खेतीको सञ्चालन खर्च निकै कम लाग्छ र यसलाई अदक्ष समूहले पनि सजिलै व्यवस्थापन गर्न सक्छ ।

यसैगरी वर्षाको पानीको सुक्ष्म सङ्कलन खेतीमा विशेषगरी भिरालो र खाल्टाका रेखाले वर्षाको वहाव बढाउँछ र विरुवायुक्त तलाउमा पु¥याउन सघाउँछ जहाँ पानी माटोमा प्रभावकारी रुपमा जम्मा हुन्छ । भिरालोमा बगेका पानी हराउने सुखा पर्यावरणमा यो निकै उपयोगी हुन्छ । मध्यपूर्व तथा उत्तर अफ्रिकाका धेरै परियोजनामा निकै सुखा क्षेत्रमा पनि हरियालीको वृद्धि कायम गर्न यो विधिले सम्भाव्यता देखाएको छ ।

स्वच्छ पानीको अर्को अपरम्परागत स्रोत सहरी क्षेत्रमा सरसफाइमा उपयोग भएका पानी र अन्य खेर गएका पानी पनि हो । उत्तर अमेरिका, उत्तरी युरोप तथा जापानमा पोहर पानी फ्याक्ने विषयमा कडा कानुनका कारण यस्ता पानीलाई सुरक्षितरुपमा सङ्कलन गर्ने, उपचार गर्ने र पुनः प्रयोग गर्ने संयन्त्र देखिएका छन् र तिनीअरूको विषयमा दस्तावेज तयार भएका छन् । यी मुलुकले विश्वलाई उदाहरण देखाएका छन् । भौगोलिकरुपमा गहिरो स्थानमा जम्मा हुने भएकाले भूमिगत पानी समुद्री तटभन्दा पर प्राप्त गर्न सकिन्छ ।

संयुक्त अरब इमिरेट्सले हाल खोजी गरिरहेको र अन्त्यमा विशेष गरी उदेक लाग्ने सम्भावित विकल्प बरफको पहाडलाई तानेर लैजाने काम हो । समुद्रको बीचमा बनेका मचान बिग्रन नदिन क्यानडाका तेल तथा ग्यास उद्योगले यस्ता बरफका पहाडलाई नियमितरुपमा तानेर अन्यत्र लैजाने काम गरिरहेका छन् । संयुक्त अरब इमिरेट्सले यस्तो बरफको पहाड लैजान १० हजार किलोमिटर (छ हजार २०० माइल) दक्षिणतर्फको यात्रामा यसलाई जोगाएर राख्नुपर्छ । यो काम सजिलो छैन र यो यात्रा एक वर्षसम्मको हुनसक्छ । एउटा हिउँको पहाडमा कति पानी रहनसक्छ भन्ने कुरा पनि विचार गर्नुपर्ने हुन्छ ।

अपरम्परागत पानीको स्रोतले देखाएको सम्भावना र धेरै मुलुकमा भन्नै नपर्ने पानीका प्रमुख चुनौतीबीच पनि यी सम्भावनाका विषयमा अझै पनि राम्रोसँग खोजी भएको छैन । पानीको कमी भोगेका प्रायःमुलुकले नुन हटाइएको पानीको उपयोगलाई नियमित गरेका छन् तर निर्णयकर्ताले आफ्नो लगानी रणनीति, पानी व्यवस्थापन नीति र पानीको सबै स्रोतको एकीकरणका सार्वजनिक बजेट खर्चमा सुधार गर्नुपर्छ

यस्तो कार्य गर्दा सरकारले अपरम्परागत पानी स्रोत उपयोग गर्ने कुरा प्राविधिकरुपमा अव्यवहारिक वा निकै खर्चिलो हुन्छ भन्ने पुरानो अवधारणालाई परित्याग गर्नुपर्छ । आर्थिक, सामाजिक, वातावरणीय तथा पानीको कमीका कारण स्वास्थ्यमा गर्नुपर्ने सम्झौतालाई ध्यान दिई यस्तो लगानीको सम्भावित फाइदाका विषयमा विश्लेषण गर्ने प्रयास गर्नुपर्छ ।

सरकारले ठूलो आकारको अपरम्परागत पानी कार्यक्रमका संस्था तयार गर्न राष्ट्रिय पानी संस्थाको जिम्मेवारीलाई स्पष्ट पार्नुपर्छ र सबै स्तरका पानीसम्बन्धी संस्थाको क्षमतामा सुधार गर्नुपर्छ । सबैभन्दो राम्रो अभ्यासलाई स्पष्ट पार्नुपर्छ, खोजीलाई पहिचान गर्नुपर्छ, परीक्षण गर्नुपर्छ र ज्ञान र अनुभवलाई साझेदारी गर्नुपर्छ ।

अपरम्परागत पानी स्रोततर्फ सर्दा निजी क्षेत्रले खेल्ने भूमिका पनि छन् । यो भूमिकालाई पानीबाट नुन हटाउने तथा सहरी क्षेत्रमा फोहर पानी र खेर गएका पानी उपयोग गर्ने वर्तमान प्रयासभन्दा पर पनि विस्तार गर्नुपर्छ । अन्त्यमा सम्भावित अपरम्परागत पानी स्रोत उपयोग गर्ने सम्भावनाको फाइदाका विषयमा प्रचार गर्ने सार्वजनिक अभियान जस्ता काममा स्थानीय संस्था, गैरसरकारी सङ्गठन तथा स्थानीय समुदायलाई परिचालन गर्नुपर्छ ।

दिगो विकासको लक्ष्य छमा सफा पानी तथा सफाईमा विश्वव्यापी पहुँचका लागि आह्वान गरिएको छ । सरकारअरूले अपरम्परागत पानीलाई आत्मसात नगरे यो लक्ष्य प्राप्तगर्ने कुरा ढुङ्गाबाट पानी प्राप्त गर्ने जस्तै कठिन हुनेछ र पानीको अभाव भएका क्षेत्रले भोग्नुपर्ने नतिजा भयानक हुनेछ ।

(मन्जुर कदिर म्याकमास्टर विश्वविद्यालयले आयोजना गरेको र क्यानाडा सरकारले सहयोग गरेको संयुक्त राष्ट्र सङ्घ विश्वविद्यालयको पानी, वातावरण तथा स्वास्थ्य संस्थानका सहायक निर्देशक हुनुहुन्छ भने भ्लादिमिर स्माख्तिन निर्देशक हुनुहुन्छ । अनुवाद : सुरेन्द्रबहादुर नेपाली) रासस-प्रोजेक्ट सिन्डिकेट

प्रतिक्रिया दिनुहोस्