Light Nepal

भोलिदेखि फुटबलको महाकुम्भ फिफा विश्वकप शुरु हुँदै, यी हुन उपाधिका प्रमुख दाबेदार

मस्को, ३० जेठ ।(एजेन्सी) – विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०१८ बिहीबारदेखि रुसको राजधानी मस्कोमा सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक रसिया र साउदी अरेबिया आमनेसामने हुँदैछन् ।

प्रतियोगितामा डिफेन्डीङ च्याम्पियन जर्मनी, स्पेन, ब्राजिल र फ्रान्सलाई उपाधिको प्रमुख दावेदारको रुपमा हेरिएको छ । व्यक्तिगत रुपमा अब्बल खेलाडी भएकै कारण बेल्जियम, अर्जेन्टिना, पोर्चुगल र इंग्ल्यान्डको पनि सम्भावना रहेको छ । दावेदार सबै टोलीमा गोलरक्षकको भूमिका महत्त्वपूर्ण हुने गर्दछ । समूह चरणमा टोलीहरुलाई तुलनात्मक जित दर्ता गर्न सहज हुन्छ । दोस्रो चरण पार गरेपछि भने उत्कृष्ट बिचको लडाईमा गोलरक्षकको भूमिका देखिने गर्छ ।

स्पेनका गोलरक्षक डेबिड डे हेया पछिल्ला केहि सिजनदेखि उत्कृष्ट लयमा छन् । छनोटका क्रममा पनि उनले राष्ट्रिय टोलीबाट यादगार प्रदर्शन गरे । म्यानचेस्टर युनाइटेडलाई लगातार उत्कृष्ट नतिजा दिलाइरहेका गोलरक्षक डे हेयामै स्पेनी टोलीको आशा रहेको छ ।

फ्रान्सका गोलरक्षक ह्युगो लोरिस पनि क्लब फुटबलमा राम्रो सिजन बिताएर आएका छन् । फ्रान्सेली टोलीका कप्तान समेत रहेका लोरिसका लागि यो राष्ट्रिय टोलीबाट अन्तिम प्रतियोगिता हुन सक्छ । त्यसैले पनि उनले टोलीको प्रदर्शनमा थप महत्त्व बोकेका छन् ।

जर्मनीका म्यानुएल नोएर सिजनको पछिल्लो भाग विश्राममै रहे । खुट्टाको चोटका कारण मैदान बाहिर रहेका उनले विश्वकपका अभ्यास खेलको प्रदर्शनसँगै खेलमा फर्किएको सिद्ध पारेका छन् । अब पुरानै लयलाई समातेर टोलीको नेतृत्व गर्नु उनलाई चुनौती हुनेछ ।

प्रतिक्रिया दिनुहोस्