Light Nepal

यी हुन् विश्वकपको फाइनलमा पुगेर पनि उपाधि जित्न नसकेका चार अभागी देश

काठमाडौं, ३० जेठ । विश्वकप सुरु हुन अब केबल सुइ साता मात्र बाँकी छ । जुन १४ देखि सुरु हुने फुटबलको यस महाकुम्भमा विश्वका ३२ देश छानिएका छन् भने करिब एक महिना एक आपसमा भिड्दै एउटा विश्व विजेता बन्ने छ ।

अहिलेसम्म सम्पन्न २० वटा विश्वकपमा ८ देशले मात्र विश्वकपको उपाधि जितेका छन् । तर केहि देश यस्ता छन् जो फाइनलसम्म पुगेर पनि विश्वकपको उपाधि जित्न असफल भएका छन् । अहिलेसम्म विश्वकपको इतिहास हेर्दा ४ देश यस्ता अभागी देश हुन् जो विश्वकपको फाइनलमा पुगेर पनि उपाधि जित्न सकेनन् ।

ति अभागी ४ देश नेदरल्याण्ड, हंगेरी, चेकोस्लाभाकिया (हाल चेक र स्लोभाकिया) र स्विडेन हुन् । यी देश मध्ये नेदरल्याण्ड तीन पटकसम्म विश्वकपको फाइनलमाप उगेर पनि विश्वकप जित्न असफल भएको छ । त्यस्तै हंगेरी र चेकस्लोभाकिया २-२ पटक विश्वकपको फाइनलमा पुगेका छन् भने स्विडेन एक पटक विश्वकपको फाइनलमा पुगेको छ ।

नेदरल्याण्डस सन १९७४, १९७८ र २०१० मा विश्वकपको फाइनलमा पुगेको थियो । सन १९७४ मा पश्चिम जर्मनीसँग नेदरल्याण्डस २-१ गोल अन्तरले पराजित हुदै विश्वकप उपाधिबाट बन्चित भएको थियो । त्यस्तै सन् १९७८ मा आयोजक अर्जेन्टिनासँग अतिरिक्त समयमा ३-१ गोल अन्तरले पराजित हुदै विश्वकप उपाधि जित्न सकेको थिएन ।

त्यसपछि २०१० मा दक्षिण अफ्रीकामा भएको विश्वकपमा स्पेनसँग अतिरिक्त समयमा १-० गोल अन्तरले पराजित हुदै तेस्रो पटक विश्वकप उपाधि जित्न असफल भएको थियो । तीन पटक विश्वकप फाइनलमा पुगेको नेदरल्याण्डस यस पटक रसिया विश्वकपमा भने छनौट हुन सकेन ।

त्यसै गरि हंगेरी दुई पटक विश्वकपको फाइनलमा पुगेको छ । सन् १९३८ र १९५४ मा फाइनलमाप उगेको हंगेरी १९३८ मा फ्रान्समा भएको विश्वकपमा इटालीसँग ४-२ गोल अन्तरले पराजित भएको थियो भने १९५४ मा स्विटजरल्याण्डमा भएको विश्वकपमा पश्चिम जर्मनीसँग ३-२ गोल अन्तरले परजित हुदै विश्वकपको उपाधि जित्न असफल भएको थियो ।

त्यस्तै तत्कालिन चेकोस्लोभाकिया सन् १९३४ र १९६२ गरि दुई पटक विश्वकपको फाइनलमा पुगेको थियो । सन १९३४ मा इटालीमा भएको विश्वकपमा इटालीसँगै फाइनलमा २-१ ले पराजित भएको थियो भने सन १९६२ मा चिलीमा भएको विश्वकपमा ब्राजिलसँग ३-१ ले पराजित भएको थियो । १९२० देखि १९९२ सम्म चेकोस्लोभाकिया देश रहेपनि सन १९९२ पछि फुटेर चेक र स्लोभाकिया देश बनेपछि दुई देशको फिफामा अलग अलग प्रतिनिधित्व हुदै आएको छ । त्यस्तै अर्को देश स्विडेन सन १९५८ मा विश्वकपको फाइनलमा पुगेको थियो । आफ्नै देशमा भएको सो विश्वकपमा स्विडेन फाइनलमा ब्राजिलसँग ५-२ गोल अन्तरले पराजित हुदै उपाधि जित्न असफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्