Light Nepal

रोनाल्डोले इतिहाँस रच्दै पोर्चुगलले हरायो मोरक्कोलाई

काठमाडौं, ६ असार । रुसमा जारी विश्वकप फुटबलमा पोर्चुगलले पहिलो जित दर्ता गरेको छ । समूहको पहिलो खेलमा स्पेनसँग ३–३ गोलको बराबरी खेलेको पोर्चुगलले दोस्रो खेलमा मोरक्कोलाई १–० ले पराजित गरेको हो ।

पोर्चुगललाई जिताउन कप्तान क्रिश्चियानो रोनाल्डोले खेलको चौथो मिनेटमै गरेको गोल निर्णायक बन्यो । योसँगै रोनाल्डोले जारी विश्वकपमा २ खेलमा व्यक्तिगत गोलको संख्या ४ पुर्याएका छन् । पहिलो खेलमा स्पेनविरुद्ध रोनाल्डोले ह्याट्रिक गरेका थिए । पोर्चुगलविरुद्ध खेल अवधिभर मोरक्कोले बलमाथि बढी नियन्त्रण कायम गरे पनि प्राप्त अवसरलाई गोलमा परिणत गर्न नसक्दा पराजित हुन पुग्यो ।

रोनाल्डोको गोलसँगै पोर्चुगलले अग्रता लिएपछि मरोक्को दबाबमा परेको थियो । समूह चरणको पहिलो खेलमा स्पेनमाथि ३÷३ को बराबरी गरेको पोर्चुगलले आफ्नो दबदबा राख्ने सक्ला नसक्ला भन्ने चासो धेरैले लिएका थिए ।  रुस विश्वकपमा चौथो गोल गर्दै क्रिस्टियानो रोनाल्डो युरोपका सर्बाधिक अन्तराष्ट्रिय गोलकर्ता खेलाडीको इतिहास रचेका छन्।

मोरोक्को विरुद्ध जारी खेलको पाँचौं मिनेटमा हेडर मार्फत गोल गर्दै रोनाल्डोले यस विश्वकपमा चौथो गोल गरेका हुन्। यसअघि आफ्नो उद्घाटन खेलमा स्पेनविरुद्ध उनले ह्याट्रिक गरेका थिए। जोए माउटिन्होको कर्नरमा उनले छ यार्ड टाढाबाट गोल गर्दै पोर्चुगललार्इ सुरुवाती अग्रता दिलाएका थिए । सोही गोलले पोर्चुगललाई जित दिलाएको हो ।

मोरोक्कोविरुद्धको हेडर अन्तराष्ट्रिय खेलमा रोनाल्डोले गरेको ८५ औं गोल हो । उनले १ सय ५१ औं खेलमा यो कीर्तिमान राखेका हुन्। यसअघि हंगेरीका फेरिनिक पुस्कासले ८९ खेलमा ८४ गोल गरेका थिए यस्तै रोनाल्डोले यसविश्वकपमा दायाँ, बायाँ खुट्टाले र हेडरमार्फत गोल गरेका छन्। यसअघि १९६६ मा जोसे टोरिसले पोर्चुगलका लागि दुबै खुट्टा र हेडरमार्फत गोल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्