Light Nepal

वर्षेनी १२ भन्दा धेरै यात्रुको ज्यान लिईरहेको बुटवल तानसेन सडकखण्डको विकल्पको रुपमा झुम्सा चरङगे सडक

बुटवल, ८ असार । वर्षेनी १२ जनाभन्दा धेरै यात्रुको ज्यान लिईरहेको बुटवल तानसेन सडकखण्डको विकल्पको रुपमा झुम्सा चरङगे सडकको ट्रयाक खोलिएको छ । हिउंद होस् या वर्षा जुनसुकै मौसममा पनि पहिरोको जोखिम बढेपछि सिद्धबाबा खण्डको विकल्पको रुपमा जुनसुकै रुपबाट भएपनि विकल्प अघि बढाउन सरकारलाई दवाव बढेको थियो । प्रदेश पांच सरकारले अहिलेको बजेटमा १० करोड बजेट विनियोजन गरी झुम्सा चरङगे ट्रयाकलाई अगाडी बढाएको हो । उपभोक्ताको पहलमा यसअघि नै झुम्सादेखि चौकीभन्ज्याङ र चरङगेदेखि मुढाबाससम्म ट्रयाक बनेकोमा सरकारले वैकल्पिक मार्गका रुपमा प्रस्ताव गर्दै काम अगाडी बढाएको हो ।

पाल्पाका उपभोक्ताहरुको पहलमा ट्रयाक खोल्न शुरु गरिएको बेला प्रदेश सरकारले आगामी वर्षको लागि ट्रयाक संचालनको लागि भन्दै बजेट विनियोजन गरेपछि पाल्पाबासीहरु उत्साहित बनेका छन् । ट्रयाक खुलेपछि शुक्रवार प्रदेश पांचका मुख्यमन्त्री शंकर पोखरेल, भौतिक योजना तथा निर्माणमन्त्री बैजनाथ चौधरी लगायत रुपन्देही र पाल्पाका सरोकारवाला निकायको प्रतिनिधी टोलीले झुम्सादेखि चरङगे सम्मको सडकको निरिक्षण गरेको छ । सडक निरिक्ष्ँण गर्दै मुख्यमन्त्री पोखरेलले सामान्य पानी पर्दा पनि पटकपटक अवरुद्ध हुंदै आएको सिद्धबाबा सडकखण्डको विकल्पको रुपमा प्रदेश सरकारले यो सडकलाई विकल्पको रुपमा अगाडी सारेर बजेट विनियोजन गरिएको बताए । उनले यात्रुहरुलाई मात्र नभई पाल्पा जिल्लामा रहेका खानी उत्खनन्बाट निकालिएका कच्चा पदार्थ बाहिर लैजान पनि यो सडक जरुरी रहेको बताए ।

प्रदेश सरकारका भौतिक योजना तथा निर्माणमन्त्री बैजनाथ चौधरीले डबल ट्रक हिड्नेगरी यसैवर्ष बाटो संचालन गर्ने दावी गरे । मन्त्री चौधरीले यो सडकलाई खाली डाईभर्सनको लागि मात्र होकी भनेर आशंका नगर्न आग्रह गर्दै लोडेड ट्रक, टिप्पर हिड्ने दिर्घकालिन सडकको रुपमा यसलाई प्रयोग गर्ने स्पष्ट पारे । यो ट्रयाक खुलेसंगै अत्यन्त जोखिम रहेको बुटवल चिडियाखोलादेखि दोभानसम्मको सडकयात्रामा हुने जोखिम हट्ने देखिएको छ । पहिरोको जोखिम मोलेर सिद्धबाबा हुंदै झुम्सा पुग्न ९ किलोमिटरको यात्रामा पुग्न सकिनेमा चरङगे हुंदै झुम्सा पुग्न भने रुपन्देहीको चरङगेदेखि २० किलोमिटर यात्रा गर्नुपर्ने छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत पहिरोको सबैभन्दा जोखिम रहेको यो सडकको दिर्घकालिन विकल्पको रुपमा सुरुङमार्ग, तिनाउ नदिमाथी पुल निर्माण वा सिद्धबाबा पहाडलाई बेन्चकटको रुपमा काट्ने जुनसुकै विकल्प अगाडी बढाईएपनि सडकयात्रालाई सुरक्ष्ँित गर्ने तत्कालिन विकल्प भने चरङगे झुम्सा ट्रयाक नै उपयुक्त विकल्प भएको जिल्ला समन्वय समिती पाल्पाका संयोजक दयाराज बस्याल बताउंछन् । २०६८ सालदेखि सिद्धबाबा खण्डमा निरन्तर पहिरोको जोखिम बढ्दै गएपछि यो सडकको विकल्प खोज्नपनि सबैक्ष्ँेत्रबाट दवाव परेको हो ।

पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो १० वर्ष यता बुटवल तानसेन सडक खण्डमा १८ बस, ५ जिप, २२ मोटरसाईकल, ७ ट्रक र ९ कारमा क्षति पुगेको छ । १० वर्षको अवधीमा पहिरोमा परी ७५ जना भन्दा बढी व्यक्तिको मृत्यु भईसकेको छ । सरकारले रकम विनियोजन गरेको वैकल्पिक सडक बुटवलको धागो कारखानादेखि देवदह नगरपालिका १० मुढावाससम्म साढे ७ किलोमिटर क्ष्ँेत्रमा यसअघि नै सवारी साधन संचालन हुंदै आएका थिए । पछिल्लो समय मुढावासदेखि पाल्पाको तिनाउ गाउंपालिकाको चौकीभञ्ज्याङ सम्मको ५ किलोमिटर सडकको नयां ट्रयाक खोलिएको तिनाउ गाउंपालिकाका ईञ्जिनियर अधिस ढकालले बताए ।

तिनाउ गाउंपालिका अध्यक्ष ओमबहादुर घर्तीले यो ट्रयाक खोल्न यसवर्ष तिनाउ गाउंपालिकाबाट ३० लाख रुपैयां गरी समग्र पाल्पा जिल्लाबाट १ करोड रकम लगानी गरिएको बताए । पाल्पाका सबै स्थानीय तह र रुपन्देहीको देवदह नगरपालिकाले ट्रयाक संचालनको लागि ५ लाख देखि ३० लाख सम्म रकम उपलब्ध गराएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्