Light Nepal

हाते कराईबाट शुरु गरिएको अचारको व्यापार अब इलेक्ट्रोनिक मेसिनबाट उत्पादित, राष्ट्रिय स्तरमा उत्कृष्ट, अन्तराष्ट्रिय बजारमा जाने तयारी

ललितपुर २४ श्रावण । “हामी आफैमा एउटा सम्पन्न परिवारबाट प्रतिनिधित्व गर्ने महिला हौं । हाम्रो एउटा बेग्लै पहिचान छ । र पनि, आफैले सवारी साधन चलाएर हामीले नै उत्पादन गरेको अचार काठमाण्डौमा विभिन्न पसलहरुमा बेचि हिंड्न हामीले लाज मानेनौं ।” भन्छन् तरस्वी खाद्य उद्योगका उद्यमी महिलाहरु ।

आफ्नो घरको भान्सामा आफुले जानेको अचारका विभिन्न परिकारहरु बनाएर परिवार र घरमा आएका पाहुनालाई वर्षौंदेखि लोभ्याउन खप्पिस ललितपुर आवास क्षेत्रका महिलाहरुले त्यही घरेलु सिपलाई व्यावसायीकरण गरेका छन् भन्ने सुनेर म ललितपुरपतिर हानिएँ ।

मंगलबारको बिहान करिब ११ बजेको समयमा म त्याहाँ पुग्दा उद्यमी महिलाहरु केही अचार बनाउनमा व्यस्त थिए भने केही अचार तौलनमा । तीनै मध्यको केही अचारलाई चाहीने सामानको तयारी गर्दै थिए त केही अचार उत्पादित क्षेत्रको सरसफाईमा । सबैले आफुले पाएको कामको जिम्मेवारी सम्हाली रहेका थिए ।

कुराकानीको शुरुवात परिचयबाट भयो । मैले यस क्षेत्रका महिलाहरुलाई उद्यमी र उद्यमशिलतासंग जोड्ने सोंच कसरी श्रृजना भयो भन्ने प्रसंग कोट्याउँदा खाद्य उद्योगका अध्यक्ष तुल्सी थापा भन्छिन्,“यसको शुरुवात म र यसै उद्योगका उपाध्यक्ष नीशा झाको सामान्य कुराकानीबाट भएको हो । हामीले जानेका कुराहरुलाई किन बाहीर नल्याउने त भन्ने प्रश्नबाट यसको शुरुवात गरेका थियौं ।”

अचार उद्योग परिसरमा अचार बनाउनलाई सुपामा फिंजाईएको लसुनको बोक्रा खोल्साउँदै अध्यक्ष थापाले भनिन्,“उद्योगमा आबद्ध सबै महिलाको समाजमा आ–आफ्नो पहिचान छ । तर भान्सा भित्र हामीले गृहेणीको रुपमा पस्कने सीपपनि हाम्रो अर्को पहिचान हो । त्यही पहिचानलाई भान्सामै सिमित नराखि हामीले उद्यमशिलतामा जोडेने प्रयास ग¥यौं र आज याहाँसम्म आई पुगेका छौं ।”

आर्थिक स्तरमा महिलाको आफ्नै पहुँच र साँझ बिहान भान्सामा पस्कने सीपलाई उद्यमशिलतामा रुपान्तरण गर्दै आफुहरुलाई उद्यमी महिलाको रुपमा चिनाउन सफल ललितपुर आवासीय क्षेत्रका उद्यमी महिलाहरुले वि.सं. २०६७ सालमा तरस्वी महिला अचार उद्योग को नाममा औपचारिक रुपमा उद्योग दर्ता गराए । २ जना महिलाबाट शुरुवात गरिएको यो अभियानमा उद्योग दर्ता गराउँदासम्म २३ जना महिलाहरु आबद्ध भएको बताउँछिन् थापा ।

थापाका अनुसार शुरुमा अचार उद्योग दर्ता गराउँदा सबै महिलाहरुले अचार बनाउन आफुले जानेको सीपलाई नै प्रयोग गरि बजारमा अचार सप्लाई गरिएको थियो । त्यसरी सप्लाई गर्ने क्रममा जोसंग जे यातायातको साधन छ त्यही साधन आफैले चलाएर उक्त साधनको पछाडी अचारलाई प्याकिंग गरेको डब्बाहरु बाँधेर काठमाण्डौको सामान्यदेखि सुपुरमार्केटहरुमा पु¥याउने गरेको बताईन् अर्की उद्यमी रमा जोशीले ।

विगतको दिन सम्झंदै रमा भन्छिन्,“आफ्नो उत्पादनलाई पहिलो पटक मार्केट लैजानु पर्ने । उत्सुकता एकातिर थियो भने अचारको स्वादलाई ग्राहकले कस्तो रुपमा लिने हुन् डरको विषय अर्को थियो ।” उद्यमी रमाका अनुसार व्यावसायकालागि त्यो उनीहरुको पहिलो प्रयास थियो । त्यसैले मनमा एक प्रकारको डर हुुनु स्वभाविक पनि हो ।

सम्पन्न र सम्भ्रान्त परिवारबाट प्रतिनीधित्व गर्ने महिला भएपनि आफुहरु केवल उद्यमी त्यसमापनि घरेलु व्यवसायबाट शुरु गरेको हुनाले त्यो समयलाई निकै नै गर्व गर्दै रमा मुस्कुराउँदै सुनाउँछिन्,“हाम्रो मेहेनतलाई बजारमा लगेर आफै बेच्न हामी लजाएनौं । किनकी किनबेचको अनुभव पनि हामीले गर्नु थियो । दिन भरिको कामलाई हामीले एकै ठाउँमा बसेर आ–आफ्नो अनुभव सुनाउँथेउँ । अनुभवले सिकाएको कुरालाई भोलिकोलागि लागु गर्ने योजना बनाउँथेउँ ।”

रमाका कुरा सुनेर संगै भएका अन्य उद्यमी महिलाहरुपनि कुरामा कुरा थप्दै पहिलाको दिन र अहिलेको दिनलाई तुलना गरेर हाँसे । उनीहरुको हाँसोमा सन्तुष्टि, गर्व र जुनुन प्रष्टै देख्न सकिन्थ्यो । अचार बनाउने योजनाबाट शुरु गरिएको उद्योग शुरुवाति दिनहरुमा महिलाहरुले अचारसंगै आफुले जानेको सेल रोटी, फुरनदाना, सामान्य रुपमा नास्ताहरुमा प्रयोग हुने विभिन्न भेराईटीका डिसहरुबाटपनि सञ्चालित भयो । तर ती सबै केही समयकालागि मात्र प्रयोगमा आएको बताउँछिन् अर्का उद्यमी महिला अम्बिका काप्री ।

महिलाहरुद्धारा सञ्चालित र महिलाहरु मात्रै कामदारका रुपमा रहेको उक्त उद्यममा हाल ९ प्रकारका अचार बनाईने उद्यमी महिला अम्बिका बताउँछिन् । उनका अनुसार लसुन, मेथि, मसलाको लेदो, मिक्स भेज, आँप, लप्सि, अकबरे खुर्सानी, हरियो खुसार्नी लगायत अन्य परिकारको प्रयोजनमा अचारहरु बन्ने गरेको छ । अहिले पनि २० देखि २५ जनासम्म महिला कामदार रहेको उक्त उद्योगमा प्रायको जीवनको जोहो त्यही खर्चेको श्रमको आम्दानीबाटै चलेको बताउँछिन् अम्बिका ।

बजारको मागलाई बुझेर सिजन अनुसारको अचार बनाई बजारमा बिक्रि गर्ने तरस्वीको एउटा अर्को विशेषता पनि हो । अचार बनाउनलाई चाहिने सबै खाले सामानहरु खरिद गर्नकालागि शुरुमा व्यक्तिगत रुपमा सबैले आ–आफ्नो खल्टिबाट ५ हजार रकम उठाएर कामको थालनी गरिएको बताएका उद्यमी महिलाहरुले मसलाकालागि पैसा उठाएपनि अचार पकाउनकालागि सबैले आफ्नो आफ्नो घरबाट सकेको सामान एकै ठाउँमा जम्मा गरेको कथा पनि सुनाए ।

उनीहरुका अनुसार कसैले अचार पकाउनलाई कराई त कसैले ग्याँस, कसैले चलाउने सामान त कसैले छोप्ने भाँडो संकलन गरेको बताए । साथै उनीहरुले अचार तौलने तराजु र अचारलाई प्याकिंग गर्ने सिलिंग मेसिन समेत नयाँ पुरानो जे जस्तो आफ्नो घरबाट उपलब्ध थियो त्यसैको प्रयोग गरिएको पनि बताए ।

आर्थिक रुपमा महिलाहरु सक्षम हुन सकुन् र कोहीपनि महिलाहरुको समय फुर्सदिलो रुपमा बित्नुको साटो केही श्रृजनात्मक रुपमा बित्न सकेको होस् भन्नकालागि एकजना उद्यमी महिलाको घरको छटबाट शुरु गरिएको अचारको विभिन्न परिकार फरक फरक स्वादमा हिजोआज देशैभरि पुग्न सफल भएको छ ।

कराईमा अचार बनाउन शुरु गरिएको यो अभियान सफल भएर हाल ईलेक्ट्रोनिक मेसिनबाट उद्यमी महिलाहरुले अचार बनाएर देशका विभिन्न स्थानहरुमा सप्लाई गरिरहेका छन् । गरे के सम्भव छैन र ? भन्ने कुराको ज्वलन्त उदाहरण तरस्वीका उद्यमी महिलाहरुको कामबाट सिक्न सकिन्छ । रोजी रोटीकालागि मात्रै उद्यमी बन्ने होईन । आफ्नो सीप विकासकोलागि पनि उद्यमी बन्न सकिन्छ भन्ने कुरको उदाहरण तरस्वीका महिलाहरुले प्रस्ट दिएका छन् ।

घरेलु कराईबाट शुरु गरिएको तरस्वी महिला अचार उद्योग अहिले सैंबु आवासीय क्षेत्र घण्टाघर ललितपुरमा तरस्वी खाद्य उद्योगको रुपमा सञ्चालित छ । अचारको नाममा दर्ता गरिएको उद्योगले बजारको मागसंगै अन्य खाद्यान्न सामानहरुको पनि माग गरेपछि खाद्य उद्योगमा दर्ता गरिएको उद्योगका अध्यक्ष तुल्सी थापाले बताईन् । अध्यक्ष थापाका अनुसार एउटा सिमित उद्येश्यको साथमा शुरुवात गरिएको अचारले बजार भाउ पाउन थालेपछि उद्योगमा दर्ता गरिएको हो ।

तरस्वी खाद्य उद्योगबाट उत्पादित विभिन्न प्रकारका अचारहरु ठुलो मात्रामा पतन्जली आयुर्वेद प्रा.ली वीरगञ्जमा सप्लाई हुने गरेको छ । मासिक ५ देखि ६ टन अचार उक्त प्रा.लीमा सप्लाई हुने गदर्छ, भने बाँकि अचार बजारले माग गरे अनुसार सम्पर्कमा आएका व्यक्तिहरुको माध्यमबाट उद्यामी महिलाहरुले आफै नै बिक्रि गर्ने गरेको उद्यमी महिलाहरु बताउँछन् ।

व्यक्तिगत ५ हजार उठाएर शुरु गरिएको तरस्वीको अहिलेको खर्च मासकि १५ देखि १६ लाखसम्मको रहेको छ । नितान्त महिलाहरुले मात्र आफ्नो पकेट मनीबाट रकम संकलनगरि जम्मा गरेको बचतबाट नै सञ्चालित उक्त खाद्य उद्योग अहिले लोनबाट चलिरहेको हुनाले उद्योगले खासै मुनाफा कमाउन नसकेको बताउँछिन् अध्यक्ष थापा ।

अचार बनाउन जति सजिलो छ तरस्वीका उद्यमी महिलाहरुलाई त्यति नै उद्योगलाई औद्योगिकरण गरेर सञ्चालन गर्न उत्तिकै चुनौतिको कुरा पनि बनेको छ । अचारकालागि आधुनिक सामानहरुको प्रयोग र उद्योगलाई बजार अनुसारको प्रतिस्पर्धामा लगेर सञ्चालन गर्नकालागि लगानी कर्ताको आवश्यकता रहेको बताउँछन् उद्यमी महिलाहरु ।

हरेक कामको शुरुवात गर्दा जति सजिलो हुन्छ त्यति नै चुनौति त्यसलाई पुर्णता दिनमा हुन्छ । तर मेहेनत, लगनशिलता र परिश्रम यदि निरन्तर कायम गर्न सकिने हो भने उक्त कामलाई सोंचेको लक्ष्यमा पु¥याउन सजिलै सकिने रहेछ भन्ने कुराको उदाहरण तरस्वीका उद्यमी महिलाहरुले गरेर देखाएका छन् ।

घरेलु कराईबाट शुरु गरिएको अचारको व्यापार आज ईलेक्ट्रेनिक मेसिनमा बनाएर बजार भाउ दिनु नै उनीहरुको सफलता हो । साथै उक्त उद्योगबाट काम सिकेर अन्य महिलाहरुले पनि अचारको व्यापार आफ्नै तरिकाले गरेर जीविको पार्जन गरेको कुरापनि तरस्वीकालागि अर्को सफलता भएको मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्