Light Nepal

बुटवल–बेलहिया ६ लेन सडक दशैंमा नसकिने, ६ महिना थपियो म्याद

बुटवल, २५ साउन । बुटवल–बेलहिया व्यापारिक आयोजनाले सडक निर्माण गरिरहेका ठेकेदारलाई पुस मसान्त सम्मको समय थप गर्ने तयारी गरेको छ । बुटवल बेलहिया ६ लेन सडकको निर्माण कार्य आगामी दशैं सम्म पूरा गर्ने गरी ठेकेदारहरुले काम गरेपनि दशै सम्म नसकिने भएपछि आयोजनाले म्याद थप गर्ने तयारी गरेको हो ।

व्यापारिक मार्ग विस्तार आयोजनाले आउँदो दशैं सम्म सडक निर्माण सम्पन्न गर्ने बताउँदै आएपनि अझै ६ किलोमिटर सडक बन्न बाँकी छ । हाल सम्म करीब ८० प्रतिशत सडक निर्माण सम्पन्न भएपनि २० प्रतिशत काम २ महिनामा पुरा नहुने भएपछि म्याद थप गर्ने तयारी गरेको आयोजनाका ईन्जिनियर गोविन्द श्रेष्ठले बताए । बुटवल चौराह देखि गोलपार्क सम्म २ लेन थप बाहेक हालसम्म २१ किलोमिटर सडक निर्माण पुरा भएको छ । बन्न बाँकी क्षेत्र मणिग्राम देखि गोदार इन्जिनियरिङ सम्म ४ प्याकेजमा काम भइरहेको छ ।

मणिग्राम देखि सुनयना पथसम्म टेलि कम्यूनिकेसन इन्डिया लिमिटेडले, सुनयना पथ देखि मधवलिया चोक सम्म कालिका रायमाझी जेभी कन्ट्रक्सनले काम गरिरहेको छ । त्यस्तै मधवलिया देखि लखनचोक सम्म टीसी आईएल र लखनचोक देखि गोदार इन्जिनियरिङसम्म विरूवा श्रेष्ठ एपेक्स जेभीले काम गरिरहेका छन् ।

आयोजनाले ४ वटै कन्स्ट्रक्सनको सम्झौता ४ महिना थप गर्ने तयारी गरेको छ । आयोजनाले म्याद थप गरेर पुस मसान्त सम्म योजना बनाएको छ । यी चार वटै ठेकेदार कम्पनीको म्याद भदौ मसान्त सम्म बाँकी रहेको छ ।सडक निर्माणमा ढिलाइ हुँदा यात्रु र स्थानीय लामो समयदेखि सास्ती खेप्नुपरेको छ ।

नेपाल–भारत पारवहन सहज र व्यापार विस्तार गर्न आर्थिक वर्ष २०६८÷०६९ देखि ६ लेन सडक बनाउन शुरू गरिएको थियो । निर्माण गर्न बाँकी सडकको ठेक्का सम्झौता भदौं मसान्त सम्म भएपनि ठेकेदारले धमाधम काम नगर्दा सडक दशै सम्म नसकिने भएको ईन्जिनियर श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्