Light Nepal

सशस्त्रका इन्सपेक्टर टिकाराम गोसाई कारबाहीमा

नेपालगन्ज, २५ साउन – नेपालगन्ज भन्सार कार्यालयमा कार्यरत सशस्त्र प्रहरी निरिक्षक टिकाराम गोसाई कारबाहीमा  परेका  छन् ।

मधिराले मात्तिएको अवस्थामा भन्सार कार्यालयको चेकजाँचमा असुली गरेको रकम माथिल्लो निकायसम्म पुग्ने गरेको गर्भको रहस्य छर्लङ पार्ने कोशिश गर्दै संकेत दिँदै आफ्नो कमाण्डरको सामुन्ने पत्रकारलाई तपाईले भन्सार किन टाइट गर्न लगाउनु भएको, तपाईहरूले टाइट गरे हामीले के खाने अनि माथि के दिने ? तपाईहरूले छिटो भन्सारमा हामीले खान पाउने वातावरण बनाउनु पर्यो’ भन्दै रक्सीको तालमा अभद्र व्यवहार देखाएको विभिन्न मिडियाबाट सार्वजनिक भएपछि नेपालगन्ज भन्सार कार्यालय सशस्त्र प्रहरी बल राजस्व गुल्मले डेढ वर्षको नसियत दिँदै कारवाही अघि बढाएको छ ।

सशस्त्र प्रहरी बलको नसियत कारवाहीमा अब सप्रनि गोसाईले १८ महिनासम्म नयाँ तालिममा जान नपाउने, बढुवा रोकिने, विदेश तालिममा जान नपाउने लगायत कुनै पनि थप वा नयाँ सेवा सुविधाबाट बञ्चित गर्दै कारवाही गरिएको राजस्व गुल्मका प्रमुख एवम् सशस्त्र प्रहरी नायब उपरिक्षक निरन्कार नाथ शुक्लाले बताउनु भयो ।

असभ्य बोली गाली अनुशासनहिन तथा बदमासी गरेको खण्डमा सम्बन्धित कार्यालय प्रमुखले ३ पटक स्पष्टीकरण सोधी जवाफ पाएपश्चात नसियत कारवाही गर्ने गरिन्छ ।
नसियत कारवाहीको आवश्यक कागजात सशस्त्र प्रहरी बलको केन्द्रिय कार्यालयमा रहेको सप्रनि गोसाईको व्यक्तिगत फाइलमा राखिनुको साथै उनको कही कतै सरुवा भएमा सम्बन्धित प्रमुखलाई केन्द्रले जानकारी समेत गराउने गरिने बताइएको छ ।

नसियत पाइसकेका सप्रनि गोसाईको आवश्यक कागजात केन्द्रमा पठाईसकिएको तथा केन्द्रले छिट्टै सरुवा गरिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्