Light Nepal

होस्टलमा चरम लापरवाही: विद्यार्थीहरु तासमा मस्त, पलङ्गको घर्रामा गाँजा

काठमाडौं, २५ साउन । काठमाडौंमा संचालन भएका होस्टलमा चरम लापरवाही हुने गरेको भेटिएको छ । महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरले गरेको अनुगमनका क्रममा यस्तो भेटिएको हो । होस्टल संचालकले सामान्य प्रकृया समेत पुरा नगरेर होस्टल संचालन गरेका छन् भने होस्टलमा बस्ने गरेका विद्यार्थीले गरेका गतिविधि प्रति पनि उनीहरु अनभिज्ञ छन् ।

प्रहरीले विहिवार होस्टल संचालक एसोशियसन, स्थानिय तहका प्रतिनिधि लगायतको अनुमति र समन्वयमा बानेश्वरका रहेका होस्टलहरुको अनुगमन गरेको हो । सामान्य सूचना पाएर अनुगमनमा गएको प्रहरीले सोँचे भन्दा बढी लापरवाही भएको पाएको छ । बुधबार लागूऔषध गाँजा बिक्री गर्दै गरेको सूचनाको आधारमा अनुगमनमा गएको टोलीले होस्टलमा बसेका विद्यार्थीको कोठामा गाँजा फेला पारेको छ भने विद्यार्थीहरु तासमा भुलिरहेको भेटेको जनाएको छ ।

बानेश्वरको शान्तिनगरवाट पक्राउ परेका सरोज लामाको बयानका आधारमा प्रहरी होस्टलमा अनुगमनका लागि गएको हो । एउटा फाइनान्स कम्पनीमा सेक्युरिटी गार्डम कार्यरत लामाले होस्टलमा बस्ने विद्यार्थीलाई गाँजा सप्लाई गर्ने बताएपछि प्रहरीले अनुगमन गरेको थियो ।
उनले पशुपतिवाट गाँजा किनेर ल्याएर विद्यार्थी लगायतलाई सप्लाई गर्ने गरेको बयान प्रहरी समक्ष दिएका छन् ।

बानेश्वर वृत्तका डिएसपी गोविन्दराज काफ्लेले स्थानिय तहका जनप्रतिनिधि र नेपाल होस्टल एसोसिएसनसँग समन्वय गरेर अनुगमन गरेको जनाएका छन् ।

बानेश्वरमा रहेको अल्फा ब्वाइज होस्टलमा पुगेको सो टोली त्यहाँको बातावरण देखेर चकित परे । त्यत्रो हुलका हुल मानिस होस्टलमा छिर्दा सम्म निकै समयसम्म कसैले थाहा समेत पाएन । होस्टल संचालक पनि थिएनन् भने सामान्य मापदण्ड समेत पुरा नगरिएको पाइएको थियो ।

सोधपुछ गर्न सुरक्षा गार्ड पनि नभएपछि उनीहरु सिधै भित्र गएका थिए । त्यहाँ भित्र विद्यार्थीहरु तास खेलिरहेका थिए । तास खेलेका विद्यार्थीको कोठामा गएर खोजतलास गर्दा प्रहरीले गाँजा समेत फेला पार्यो ।

तासको बुक प्रहरी बरामद गर्‍यो । कोठामा चेकजाँज गर्दै जाँदा विद्यार्थीको पलङ मुनिएको ड्रयरभित्र गाँजा पोको पारेर राखिएको प्रहरीले फेला पार्यो । निकै बेर पछि आइपुगेका होस्टल संचालक आफ्नो होस्टलमा भइरहेको कृयाकलाप प्रति नाजवाफ थिए । उनी आफै चकित परे ।
प्रहरीको टोलीले बानेश्वर आसपासका केही होस्टलमा गरेको अनुगमनका क्रममा निकै लापरवाही फेला पारेको जनाएको छ । होस्टलमा गार्ड नभएको, सिसी टिभी अनिवार्य राख्नुपर्ने भए पनि नराखिएको । होस्टलमा अपरिचित ब्यक्तिहरु प्रवेश गरेको । लगायतका लापरवाही फेला पारेको डिएसपी काफ्लेले बताएका छन् । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्