Light Nepal

सलमान खानका कारण जेल परेका सीमान्त, अदालत परिसरमै फेरी पक्राउ

काठमाडौँ, २५ साउन । गत असार २९ गते पक्राउ परेर शुक्रवार अदालतको आदेशमा रिहा भएका सीमान्त गुरुङ्गलाई प्रहरीले अदालत परिसरवाट फेरी पक्राउ गरेको छ । भारतीय अभिनेता सलमान खानलाई नेपाल ल्याउँछु भन्दै करोडौँ रुपैयाँ ठगी गरेको अभियोगमा उनी पक्राउ परेका थिए ।

ठगी मुद्धा खेपिरहेका गुरुङ्गलाई जिल्ला अदालत काठमाडौँले शुक्रवार १५ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको थियो । उनलाई अदालत परिसरमै प्रहरीले पुन पक्राउ गरेको हो । प्रहरीले गुरुङ्गलाईै बैंकिङ कसुरमा फेरी पक्राउ गरेको जनाएको छ ।

सलमानसहित अन्य केही कलाकारलाई नेपालमा ल्याएर लाइभ शो गर्ने भन्दै गुरुङ्गले करोडौं रकम उठाएका थिए । तर विप्लव समुहको धम्की पछि सलमान खानले नेपाल आउने कार्यक्रम रद्ध गरिदिएपछि उनी समस्यामा परेका हुन् । करोडौँ रुपैयाँ उठाएर ठगी गरेको अभियोगमा गुरुङलाई गत असार २९ गते महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको थियो । उनी बिरुद्ध ९३ लाख रुपैयाँ चेक बाउन्स भएको उजुरीको आधारमा फेरी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

२०७४ फागुन २६ गते राजधानीको टुँडिखेलमा गर्ने भनिएको सलमान खान र अन्य बलिउडस्टारसहितको दब्याङ्ग टुर नेपाल’ स्थगित भएको थियो । त्यसपछि त्यो कार्यक्रम जेठका लागि सारिएको थियो । तर जेठमा पनि सलमान नेपाल आउन सकेनन् । सो कार्यक्रमका लागि न्युनतम ३ हजार देखि २० हजार रुपैया सम्मको टिकट बेचिएको थियो । कार्यक्रमको प्रचार प्रसार र अन्य ब्यवस्थापनमा पनि लाखौं रुपैया खर्च भएको थियो ।

प्रतिक्रिया दिनुहोस्