Light Nepal

नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई उर्जामन्त्री पुनले दिए यस्तो निर्देशन

काठमाडौं, १ भदौ । प्राधिकरणको ३३औँ वाषिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले तोकिएको समयमा आयोजना पूरा नगर्ने प्रवृत्तिबाट मुक्त भएर काम गर्न विद्युत प्राधिकरणका अधिकारीहरुलार्य निर्देशन दिएका छन् ।
प्राधिकरणको ३३औँ वाषिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री पुनले यस्तो निदृेशन दिएका हुन् ।

“विद्युत्भार कटौतीको अन्त्य भयो भनेर मख्ख परेर बस्ने अवस्था छैन, आयोजनाको हालत असाध्यै खराब छ । यति समयमा पूरा गर्छौं भनेर प्रतिबद्धता जनाए पनि राष्ट्र र जनताप्रति जिम्मेवार बन्न पर्दैन रु”, मन्त्री पुनले प्रश्न गरे । नहुने काम भइहाल्छ र हुन्छ भनेर देश, जनतालाई नढाट्नसमेत मन्त्री पुनले प्राधिकरणको नेतृत्वको ध्यानाकर्षण गराए । उनले निजी क्षेत्रलाई समेत इमान्दार र जिम्मेवार भएर ऊर्जा क्षेत्रमा लगानी गर्न आग्रह गरे ।

“शक्ति केन्द्र धाएर, केही व्यक्ति वा संस्थालाई खुशी पारेको भरमा अब पनि मुलुक चल्छ भन्ने मान्यताले काम गर्दैन”, मन्त्री पुनले भने । उनले सरकारी निकाय बढी जिम्मेवार बन्नुपर्ने र नमूना काम गर्नुपर्नेमा जोड दिए । निजी क्षेत्रले पनि देश र जनताको हितमा काम गर्नुपर्ने र जता पनि फाइदा मात्रै खोज्ने र शक्ति केन्द्रलाई मिलाउने प्रवृत्तिबाट मुक्त हुन उनको आग्रह थियो ।

प्राधिकरणका कर्मचारीको आफ्नै शेयर स्वामित्व रहने गरी ६० मेगावाट क्षमताको मोदी खोला जलविद्युत् आयोजना निर्माणका लागि स्वीकृति दिने चरणमा मन्त्रालय रहेको उनको प्रष्टोक्ति छ । सरकारले २०७५ देखि २०८५ साललाई ऊर्जा दशक घोषणा गरेको छ । ऊर्जा क्षेत्रको सुधारका लागि सरकारले गत वैशाखमा श्वेतपत्र सार्वजनिक गरेको छ । सरकारले विद्युत्को खपत बढाउनका लागि रणनीतिकरुपमा उपाय अपनाएको र त्यसलाई कार्यान्वयनमा लैजाने तयारी गरेको उनले जानकारी दिए । सरकारले आगामी तीन वर्षभित्र तीन हजार मेगावाट, पाँच वर्षमा पाँच हजार मेगावाट र १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य राखेकाले प्राधिकरणले नै त्यसका लागि महत्वपूर्ण जिम्मेवारी लिनुपर्नेमा मन्त्री पुनले जोड दिए ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव एवं प्राधिकरण सञ्चालक समितिका अध्यक्ष अनुपकुमार उपाध्यायले हरेक नागरिकलाई केन्द्रमा राखेर सेवा दिने सोचका साथ प्राधिकरण लाग्नुपर्ने बताए । उनले विद्युत्भार कटौतीको अन्त्यपछि मुलुकको कूल गार्हस्थ्य उत्पादनमा पु¥याएको सकारात्मक योगदानको समेत चर्चा हुनुपर्नेमा जोड दिए । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबैको सहकार्य र सक्रियताले नै प्राधिकरणलाई नाफामा लैजान सकिएको दृष्टान्त पेश गरे । आव २०७४÷७५ मा प्राधिकरणले रु एक अर्ब एक करोड खुद मुनाफा गर्ने देखिएको छ । प्राधिकरणको सञ्चित घाटा अझै पनि रु ३२ अर्ब रहेको छ । यस्तै प्राधिकरणले भारतबाट गत आवमा रु १९ अर्ब बराबरको विद्युत् आयात गरेको छ ।

कार्यक्रममा प्राधिकरणको आधिकारिक टे«ड युनियनका अध्यक्ष जनार्दन भट्टराईले सबै कर्मचारीलाई साथमा लिएर जाने मान्यताको विकास गर्न प्राधिकरणको नेतृत्वलाई आग्रह गरे । सो अवसरमा मन्त्री पुनले प्राधिकरणका पहिलो कार्यकारी निर्देशक हर्षमान थापालाई सम्मान गरे । यस्तै उत्कृष्ट सेवा गर्ने १५ कर्मचारी, केही आयोजना र वितरण केन्द्रका कर्मचारीलाई समेत सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्