Light Nepal

अर्काले फेसवुकमा पोष्ट गरेको कार्टुन सेयर गर्दा वडा सचिव पक्राउ

काठमाडौं, ५ भदौ । फेसबुकमा कार्टुन सेयर गरेका कारण काभ्रेमा एक जना सरकारी कर्मचारी पक्राउ परेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरी समाजमा भ्रम फैलने गरी कार्टुन सेयर गरेको आरोपमा पक्राउ गरिएको हो । काभ्रेको रोशी गाउँपालिका ५ का वडासचिव होमनाथ सिग्देललाई महानगरीय अपराध महाशाखाले मंगलवार पक्राउ गरेको छ ।

प्रहरीले सिग्देलको घरवाटै उनलाई पक्राउ गरेको हो । महाशाखाका प्रहरी उपरिक्षक नरेन्द्र प्रसाद उप्रेतिले नकारात्मक दृष्टिकोणले समाजमा भ्रम फैलाउने काम गरेको अभियोगमा पक्राउ गरिएको बताएका छन् । उनले अरुले फेसवुकमा पोष्ट गरेको कार्टुन आफ्नो फेसवुकमा सेयर गरेका हुन् ।

सिग्देलले फेसवुकमा सेयर गरेको कार्टुन

सिग्देलले लक्ष्मण पराजुलीले फेसबुकमा पोष्ट गरेको कार्टुन सेयर गरेका थिए । उनलाई विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिम विद्युतीय स्वरुपमा गैरकानुनी कुरा प्रकाशन गर्ने कार्यमा संलग्न भएको अभियोगमा कारबाही सुरु गरिएको प्रहरीले जनाएको छ । यो व्यवस्था अनुसार एक लाख जरिवाना र पाँच वर्षसम्म कैद वा दुबै सजाय हुन्छ ।

वडा सचिव सिग्देललाई प्रहरीले उनकै घर भक्तपुर सूर्यविनायकबाट पक्राउ गरेको हो । बासु दिक्षितले बनाएको कार्टुन लक्ष्मण पराजुलीले कार्टुन यतै सामाजिक संजालवाट भन्दै पोष्ट गरेका थिए । सोही कार्टुन सिग्देलले आफ्नो फेसवुकमा सेयर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्