Light Nepal

आफै बजेट बनाउने र ठूलो रकम खर्च गर्ने अधिकार पाएको स्थानिय तहमा अख्तियारको निगरानी

बुटवल, ५ भदौ । आफै कानुन निर्माण गर्ने, बजेट पनि आफै खर्च गर्ने अधिकार स्थानिय सरकारलाई भएको भन्दै अख्तियार कार्यालयले अब स्थानिय तहमा निगरानी बढाउने भएको छ ।

स्थानिय तहमा ठुलो बजेट खर्च हुने भएकाले भ्रष्टचार बढि हुने भएकाले अख्तियारले स्थानिय तहमा निगरानी बढाउने भएको हो । आज अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले आयोजना गरेको आव. ०७४÷०७५ को बार्षिक प्रगति कार्यक्रममा कार्यालयका प्रमुख रविलाल पन्थले स्थानिय तहमा भ्रष्टचार मौलाउन सक्ने भएकाले तल्लो तहमा निगरानी बढाउने बताए । चालु आर्थिक बर्षको एक महिनाको अवधिमा स्थानीय तहका जनप्रतिनिधि विरुद्ध अख्तियारमा उजुरी आइसकेको भन्दै अख्तियार स्थानिय तहमा चनाखो भएर लाग्ने बताए ।

चालु आर्थिक बर्षको एक महिनामा अख्तियार दुरुपयोग आयोगको बुटवल कार्यालयमा परेका उजुरीमध्ये सबैभन्दा धेरै स्थानीय तहका विषयमा छन् । साउनमा मात्रै ३० उजुरी दर्ता भएको अख्तियारले जनाएको छ । यता अख्तियार कार्यालयले आर्थिक बर्ष ०७४÷०७५ मा ५५ प्रतिशत उजुरी पर्छयौट भएको बताएको छ । आर्थिक बर्ष ०७४÷०७५ मा कुल ८ सय ५७ उजुरी परेकोमा ४ सय ७२ उजुरी पर्छयौट तथा ३ सय ८५ उजुरी पर्छयौट हुन बाँकी रहेका छन ।

उजुरीको संख्यामा हेर्दा सवैभन्दा बढि रुपन्देहीमा ३ सय ८ र सवैभन्दा कम गुल्मीमा ४८ वटा उजुरी परेका थिए । त्यस मध्ये सवैभन्दा बढि शिक्षामा ३ सय २१ उजुरी परेकोमा १ सय ७८ उजुरी पर्छयौट भएका छन । त्यस संगै स्थानिय तह सम्बन्धी २ सय १ उजुरी परेकोमा जम्मा ७९ वटा उजुरी पर्छयौट भएका छन । अख्तियार कार्यालयले एक बर्षमा ५ जनालाई रंगेहात पक्राउ गरी ६ लाख रुपैया, मुद्धा दायरबाट ५ वटा बाट विगो दावी स्वरुप ६ लाख र अशुल उपरबाट ४ करोड ८ लाख २९ हजार रुपैया राजश्व संकलन गरेको छ । अख्तियारमा पछिल्लो पाँच बर्ष यताका ३ सय ८५ उजुरी पर्छयौट हुन बाँकी छन ।

अख्तियार कार्यालय बुटवलका प्रमुख पन्थले अख्तियारमा विद्यालयको भवन बनाउदा गुणस्तरहिन भएको, छात्रबृत्ति रकम दुरुपयोग भएको, पाठ्यपूस्तक वितरणमा अनियमितता भएको, विद्यालय कोषको रकम हिनाविना भएको, स्थानिय तहको आन्तारिक आयको विनियोजन र खर्च पारदर्शी नभएको जस्ता उजुरी बढि आउने गरेको बताए । “अख्तियारमा उजुरी आउने क्रम बर्षेनी बढ्दै गएको छ” पन्थले भने–“ कर्मचारी दरबन्दी पुरा नहुने र दक्ष जनशक्तिको अभावका कारण काम गर्न अप्ठयारो छ ।” पछिल्लो समय घुस लिने तरिका बदलिनुका साथै गुणस्तरि र प्रमाणमुखी अनुसन्धान गर्न चुनौति रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्