Light Nepal

मलेसियामा रहेका नेपालीका लागि आयो यस्तो खबर, सावधान ! पक्राउ परिएला

काठमाडौं, १६ भदौ । मलेसियाले अवैधानिक कामदारविरुद्ध देशव्यापी रुपमा धरपकड गर्ने भएको छ । अवैधानिक आप्रवासी कामदारलाई स्वदेश फर्कनका लागि सञ्चालन भएको ‘थ्री प्लस वान सरेन्डर प्रोग्राम’ नाम दिइएको आममाफी कार्यक्रम सकिएपछि मलेसियाले अवैधानिक कामदारविरुद्ध धरपकड गर्ने भएको हो । यसबाट अवैधानिक रुपमा बसिरहेका नेपाली कामदार प्रभावित हुनेछन् । आममाफी कार्यक्रममा सहभागी नभएका अवैधानिक कामदारविरुद्ध देशव्यापी धरपडक अभियान चलाउने मलेसियाको अध्यागमन विभागका निर्देशक दातुक मुस्ताफिर अलीलाई उद्धृत गर्दै द स्टारले जनाएको छ । गएको फेबु्रअरी १५ अर्थात फागुन ३ गतेदेखि मलेसियाले अवैधानिक रुपमा रहेका विदेशी कामदारलाई स्वदेश फर्किनका लागि ‘थ्री प्लस वान सरेन्डर प्रोग्राम’ सञ्चालन गरेको थियो । यो अवधि गएको बिहीबार सकिएको छ ।

मलेसियाले यसअघि पनि अवैधानिक रुपमा रहेका विदेशी कामदारलाई वैधानिक प्रक्रियामा दर्ता भई काम गर्न पाउने अवसरसहितको ‘रिहाइरिङ’ कार्यक्रम सञ्चालन गरेको थियो । वैधानिकताका लागि दर्ता भएका कामदारलाई ‘इन्फोर्समेन्ट कार्ड’ निःशुल्क वितरण गरी थप वैधानिकताको प्रक्रिया अपनाउन त्यस्तो कार्यक्रम ल्याइएको थियो । तर झन्झटिलो प्रक्रियाका कारण धेरै विदेशी कामदार वैधानिक हुनबाट वञ्चित भएका छन् । यसरी वैधानिक हुने कार्यक्रम पनि गएको जुन महिनामै सकिएको छ ।
मलेसियाले अवैधानिक कामदारलाई वैधानिकता र आममाफी कार्यक्रम पटकपटक सञ्चालन गरिसकेको छ । ‘थ्री प्लस वान सरेन्डर प्रोग्राम’ नाम दिइएको आममाफीमा अवैधानिक विदेशी कामदारले तीन सय रिंगिट जरिवाना र स्वदेश फर्किने पास लिन एकसय रिंगिट रुपैयाँ तिरे पुग्थ्यो । तर यो समयमा स्वदेश नफर्किएका विदेशी कामदारलाई मलेसियाले पक्रिने जनाएको छ । आफ्नो देशलाई अवैधानिक विदेशी कामदारमुक्त बनाउने उदेश्य लिएको निर्देशक मुस्ताफर अलीले बताएका छन् । त्यसैअनुसार आममाफी सकिएलगत्तै धरपकड सुरु गरिएको उनको भनाई छ ।

सन् २०१४ देखि आममाफीको उपयोग गरी ८ लाख ६७ हजार ३ सय ३६ जना विदेशी कामदार स्वदेश फर्किएको मलेसियाली अनलाइन द स्टारमा उल्लेख छ । त्यसमध्येमा कति नेपाली फर्किए भन्ने तथ्याङ्क छैन । पछिल्लो समय दिएको आममाफीको उपयोग गरी १२ हजार ८ सय ४१ जना नेपाली स्वदेश फर्किएका मलेसियामा रहेको नेपाली दूतावासले जनाएको छ । मलेसियामा झण्डै ५ लाख नेपाली कार्यरत छन् । तीमध्ये कति नेपाली अवैधानिक रुपमा काम गरिरहेका छन् भन्ने पनि तथ्याङ्क छैन ।

प्रतिक्रिया दिनुहोस्