Light Nepal

मलिन अनुहारमा देश फर्किए फुटबल खेलाडी

काठमाडौँ, २८ भदौ । बंगलादेशमा जारी साफ च्याम्पियनसिपको सेमिफाइनलमा पराजित नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फिर्ता भएको छ। नेपाल बुधबार माल्दिभ्सविरुद्ध खेलमा ३–० ले पराजित भएको थियो। पराजित भएसँगै नेपाल बिहीबार मध्यान्न स्वेदश फर्किएको हो।

नेपाललाई यस साफ च्याम्पियनसिपमा फाइनलमा पुगेर नयाँ इतिहास रच्ने सुनौलो अवसर थियो। साथै नेपाललाई माल्दिभ्सविरुद्ध खेल जित्दै जितको खडेरी तोड्ने अवसर थियो। तर हारसँगै नेपाल पाँचौ पटक पनि सेमिफाइनलमा प्रवेश गर्न नसकेको हो। यस्तै प्रतियोगिताको सातौ पटकको भेटमा समेत नेपाल माल्दिभ्ससँग विजयी हुन सकेन।

नेपालले साफ च्याम्पियनसिप प्रतियोगिताको ग्रुप स्टेजमा एक खेलमा हार तथा २ खेलमा जित निकालेको थियो। पहिलो खेलमा पाकिस्तान विरुद्ध २–१ ले पराजित नेपाल दोस्रो खेलमा भुटानविरुद्ध ४–० को जित निकाल्न सफल भएको थियो। यस्तै नेपालले आयोजक बंगलादेशलाई २–० ले पराजित गरेको थियो।
साफ च्याम्पियनसिप उपाधि भिडन्तको टुंगो लागिसकेको छ। बुधबार राति सम्पन्न दोस्रो सेमिफाइनलमा भारतले पाकिस्तानलाई ३–१ ले पराजित गरेसँगै उपाधि भिडन्त पक्का भएको हो।

अब भारत र माल्दिभ्सबीचको फाइनल खेल शनिबार साँझ पौन ७ बजे सुरु हुनेछ। भारतले यसअघि माल्दिभ्सलाई ग्रुप बीको ग्रुप स्टेजको खेलमा २–० ले पराजित गरेको थियो। भारत समुह विजेता र माल्दिभ्स उपविजेता बन्दै सेमिफाइनल चरण प्रवेश गरेका थिए।

प्रतिक्रिया दिनुहोस्