Light Nepal

गम्भीर विषयमा गृहमन्त्री थापाको हल्का टिप्पणी : वीरेन्द्र केसीलाई धम्क्याउने मान्छे कस्तो ? गृहमन्त्री भन्छन्ः ठूलै जिउडालको !

काठमाडौं, २९ भदौं ।गृहमन्त्री रामबहादुर थापा बादलले राजीनामा दिएका वीरेन्द्र केसीको राजीनाका विषयमा आफूलाई केही जानकारी नभएको बताएका छन् । उनले केसीले कसको धम्कीले राजीनामा दिए भन्ने मेसो नपाएको बताए । शुक्रबारको संसद बैठकमा कांग्रेस सांसद अमरेशकुमार सिंहले गृहमन्त्रीलाई सोधे, ‘राज्यभन्दा पनि शक्तिशाली को हो ?’

गृहमन्त्री बादलले यसको जवाफ दिन सकेनन् बरु उनले यो प्रश्नको जवाफ स्वयं वीरेन्द्रले नै दिनसक्ने बताए । छानबिन समितिका सदस्य केसीले आफूहरुलाई दिएको जानकारी अनुसार भन्दै गृहमन्त्रीले भने, ‘घटनास्थल, जहाँ उहाँले छानविन गर्दै हुनुहुन्थ्यो रे । त्यसक्रममा एक जना शक्तिशाली देखिने ठूलै जिउडालको मान्छे आयो रे । उसले तपाईले राम्रै गर्दै हुनुहुन्छ । तर, यस्ता छानविन धेरै भए । छानविन गर्नेहरुलाई गाडी लगाएर हत्या हुने गरेको सम्झनुहोला भनेर भनेर ।’ थापा अघि भन्छन्, ‘शायद शक्तिशाली व्यक्ति त्यही हुनुहुन्छ । उहाँलाई पनि थाहा छैन नाम ।’

वीरेन्द्रले ‘शक्तिशाली अपराधीबाट जुनसुकै बेला मेरो हत्या हुनसक्छ’ भन्दै राजीनामा दिएका थिए । पछि गृहमन्त्री आईजीपीसँगको भेटपछि राजीनामा फिर्ता लिएर नियमित काममा फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्