Light Nepal

अब बिरामी मरे डाक्टरले क्षतिपूर्ती दिनु नपर्ने(विधेयककाे पूर्णपाठसहित)

काठमाडौं, २९ भदौं ।‘जनस्वास्थ्य विधेयक, २०७५’ सर्वसम्मतिले पारित भएको छ । विधेयक पारित गरियोस् भनी उपप्रधानमनत्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले प्रतिनिधिसभाको आजको बैठकमा उक्त प्रस्ताव पेश गरेका थिए । यस अघि मन्त्री यादवले ‘शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन सहितको जनस्वास्थ्य विधेयक, २०७५ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

छलफलमा सांसद प्रेम सुवालले मात्र भाग लिए । विधेयकका बारेमा पर्याप्त छलफल गर्ने समय नदिइएको उनले गुनासो गरे । सांसदका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले विधेयकमा सरकारी, सहकारी र गैर सरकारी संस्थाले सञ्चालन गर्ने स्वास्थ्य संस्थालाई व्यवस्थापन एवं नियमन गर्ने विषय समेटिएको बताए । रोग लाग्नबाटै जोगाउने र लागिहालेमा उपचार गर्ने अधिकार सुनिश्चित गरिएको उनको भनाइ थियो । बैठकले विधेयकको दफा एकदेखि ६० सम्म समितिले गरेको संशोधनलाई अङ्ग बनाउने प्रस्ताव पनि स्वीकृत गरेको छ ।

के छ विधेयकमा ? – सरकारी कर्मचारी तथा भीआईपीले सरकारी खर्चमा विदेशमा उपचार गर्न नपाउने व्यवस्था छ । त्यस्तै डाक्टरहरूले औषधि सिफारिस गर्दा जेनेरिकमा सिफारिस गर्नुपर्नेछ । स्वदेशी औषधिको हकमा भने २ वर्ष ब्राण्डमा र २ वर्षपछि अनिवार्य रूपमा जेनेरिकमा लेख्नुपर्ने उल्लेख छ । लापरबाही वा हेलचेक्रयाइ भएर बिरामीको अंगभंग अथवा मृत्यु भए डाक्टरहरूले क्षतिपूर्ति तिर्नुपर्ने छैन् ।

डाक्टरहरूको आन्दोलनको कारण समितिले डाक्टरहरूले क्षतिपूर्ति तिर्नुपर्ने व्यवस्था हटाएको हो । यसअघि डाक्टरले उपचार गर्दा लापरबाही भए चिकित्सकले क्षतिपूर्ति गर्नुपर्ने व्यवस्था विधेयकमा थियो ।

संशोधनसहित संसदको शिक्षा तथा स्वास्थ्य समितिले संसदमा पेश गरेको विधेयक संसदबाट पारित भएको हो । जनस्वास्थ्य विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनको रूपमा कार्यन्वयनमा आउने छ । रासस

प्रतिक्रिया दिनुहोस्