Light Nepal

दिदी बहिनी माथि एसिड प्रहार : आफैले एसिड आक्रमण गरी मृत्युको मुखमा पुर्याएर अस्पतालमा आफै कुरुवा

काठमाडौं, २ असोज । रौतहटमा तिजको दर खाने दिन दुई दिदी बहिनीमाथि भएको एसिड प्रहारको घटनामा उनीहरुकै कुरुवा बसेका ब्यक्तिलाई प्रहरीले अभियुक्तका रुपमा सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले ४५ वर्षीय रामबाबु पासवानलाई अभियुक्तका रुपमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । उनलाई प्रहरीले काठमाडौंवाट पक्राउ गरेको हो । रौतहटको चन्द्रनिगाहपुर नगरपालिकामा दुई दिदी बहिनी माथि भएको एसिड आक्रमणको घटनामा प्रहरीले पासवानलाई काठमाडौंबाटै पक्राउ गरेको थियो।

भदौ २६ गते राति रौतहटका १८ वर्षीया सम्झना दास र १५ वर्षीय सुस्मिता दासमाथि एसिड प्रहार भएको थियो। पीडित मध्ये एक जनाको होस आएको छ भने एक जनाको आइसियुमा उपचार भइरहको छ । स्वास्थ्य अवस्थामा सुधार आएकी एक बहिनीको बयानको आधारमा प्रहरीले पासवानलाई पक्राउ गरेको हो । उनी बिरामी लिएर काठमाडौं आएका थिए । पीडितको बयान र सम्झनाका बुवाले प्रहरीमा दिएको किटानी जाहेरीको आधारमा पासवानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी केदार ढकालले ुविभिन्न कोणबाट अनुसन्धान गर्दा पासवान दोषी देखिएकाले पक्राउ गरेर अनुसन्धान सुरु गरेको बताए । प्रहरीले थप अनुसन्धानका लागि अदालतबाट ८ दिनको म्याद थप गराएको छ । दुई दिदी बहिनीको कीर्तिपुर अस्पतालमा उपचार भइरहको छ । पासवान यी दुवै दिदी बहिनीका कुरुवा समेत बसेका हुन्। प्रहरीको अनुसन्धानमा पासवान र सम्झना बीच मोबाइलमा पटक पटक कुराकानी भएको देखिएको छ । उनीहरु बिच घटना भएको १५ दिन अगाडि मात्र १ सय ८० पटक फोन सम्पर्क भएको प्रहरी अनुसन्धानवाट देखिएको छ । सम्झनाको मोबाइलमा पासवानले १५ दिनमा १ सय ८० पटक कल गरेका थिए। तर उनी ति दिदी बहिनीको कुनै नाता सम्बन्धका ब्यक्ति पनि होइनन् ।

कीर्तिपुर अस्पतालको आइसीयू कक्षमा राखेर सम्झनाको उपचार भइरहेको छ। उनी माथिको खतरा अझै टरेको छैन । बहिनी सुस्मिता भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्