Light Nepal

संविधान दिवस: राष्ट्रिय अखण्डता विरुद्ध सभा चल्दा प्रहरी प्रशासन मुक दर्शक

बुटवल, ३ असोज । असोज ३ गते देशैभर तेस्रो संविधान दिवस मनाइएको छ । तर प्रदेशको राजधानी रुपन्देहीमा भने दक्षिणमा तामझामका साथ संविधान दिवस मनाईरहदा पश्चिममा भने संविधानका विरुद्ध प्रदर्शन भएको छ ।

देशद्रोहको नारा उठाइरहेको सिके राउतका समर्थकले रुपन्देहीमा बुधबार विरोध प्रदर्शन गर्दै स्वतन्त्र मधेशको नारा फेरि उछालेका छन् । बुटवलमा प्रदेश सरकारले संविधान दिवस तामझामका साथ मनाईरहदा रुपन्देहीको गैडहवा गाउँपालिकाको वडा नम्बर ६ को सूर्यपुरा चौकमा भने सिके राउतका कार्यकर्ताले संविधान विरुद्ध विरोध गरेका थिए ।

सिके राउत नेतृत्वको स्वतन्त्र मधेश संगठनले आफ्ना कार्यकर्ता राममनोहर यादवको श्रद्धाञ्जली कार्यक्रमसहित कालो संविधान भन्दै विरोधसभा गरेको बताइएको
छ । राष्ट्रिय अखण्डताविरुद्ध सभा चल्दा प्रहरी भने मूकदर्शक बनेको स्थानीयले बताएका छन् । संविधान दिवसकै दिन प्रहरीको ‘सुरक्षा’मै स्वतन्त्र मधेसको विषयमा चर्को भाषण भएको ती अगुवाहरूले बताए । सिके राउतका कार्यकर्ता यादवको केही दिनअघि बर्दियाको प्रहरी हिरासतमै उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको थियो । तर, संगठनले भने यादवको हत्या गरिएको आरोप लगाएको छ ।

रुपन्देही, नवलपरासी र कपिलवस्तुमा संगठन विस्तार गर्दै गइरहेको सिके राउत समूहले स्वतन्त्र मधेसको पक्षमा जनमत बनाइरहेपनि सुरक्षा निकाय कमजोर देखिएको छ । संगठनका रुपन्देही संयोजक भूपेन्द्र यादवले गैडहवाको सगरहवा नजिकै कार्यक्रम गरिएको बताए । “जनमत हाम्रो पक्षमा छ, प्रहरीले रोक्यो भनेर हुन्छ” उनले भने ।

सभालाई संयोजक यादवसहित सहसंयोजक दिलिप यादव, स्वतन्त्र मधेश संघर्ष समितिका संयोजक चन्द्र शेखर सोनार, जिल्ला स्तरीय नेता विजय यादव, सञ्जय मिश्र लगायतका नेताले सम्बोधन गरे । प्रहरीले २ दिनअघि कार्यक्रमको विषयमा प्रचार गर्ने २ कार्यकर्ता चन्द्रभुषण सोनार र रामचरण यादवलाई पक्राउ गरेको
थियो । गैडहवामा ४ घण्टा कार्यक्रम चरिरहँदा प्रहरीले कुनै हस्तक्षेप गरेन ।

ईलाका प्रहरी कार्यालय सूर्यपुराका प्रहरी सहायक निरीक्षक मिनबहादुर खत्रीले कार्यक्रम बिथोलिएको बताए । सिके राउत समूहले रुपन्देहीमा २ सय ८० सदस्यीय जिल्ला कार्यसमिति गठन भएको जनाएको छ । ५ सय जनाको युवा दस्ता तयार पारिएको यादवले जानकारी गराए । नवलपरासी र कपिलवस्तुमा संगठन बलियो बन्दै गएको उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्