Light Nepal

घरेलु क्रिकेटवाट पनि सन्यास लिंदै शक्ति गौचन, क्रिकेटको विकासमा लाग्ने योजना

काठमाडौं, २५ असोज । अन्तराष्ट्रिय क्रिकेटवाट सन्यास लिएका नेपालका क्रिकेटर शक्ति गौचनले घरेलु क्रिकेटबाट पनि सन्यास लिने मनस्थिति बनाएका छन् । उनले गत साउनमा अन्तर्राष्ट्रिय क्रिकेटवाट सन्यास लिएको घोषणा गरेका थिए । उनी अहिले ३४ वर्षका भए । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटको तयारी गरिरहेका उनले अब घरेलु क्रिकेटवाट पनि सन्यास लिने मनस्थिती बनाएको उनी निकट खेलाडीले बताएका छन् ।

उनले आफै पनि पीपीएल क्रिकेट अन्तिम खेल हुनसक्ने बताएका छन् । उनले संचारमाध्यमसंग भने अन्तिम निर्णय त गरिसकेको छैन तर, घरेलु क्रिकेटमा यो मेरो अन्तिम सिजन हुनसक्छ’।

उनले अब क्रिकेट विकास तर्फ ध्यान दिने तर्फ आफ्नो भुमिका हुने बताएका छन् । क्रिकेटमा लामो समय विताएका आफु जस्ता खेलाडीले अब खेल्नुभन्दा पनि क्रिकेटको विकासमा ध्यानदिनु पर्ने प्रतिकृया दिएका छन् । त्यसैले अब आफु खेल्ने भन्दा पनि क्रिकेटको विकासमा लाग्ने बताए । उनले क्रिकेटमा खेलाडी समेत सिमीत भएकाले विकासका लागि भूमिका खेल्ने कोही नभएको प्रतिकृया दिए ।

नेपाली क्रिकेट पछिल्लो केही वर्षयता अभिभावकविहीन छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बन गरेपछि ग्रास रुटदेखि नेपाली क्रिकेटको विकास ठप्प भएको छ ।

हुन त त्यसअघि पनि नेपाली क्रिकेटको अवस्था राम्रो थिएन । क्यानभित्रको विवाद, खिचतानीलगायत राजनीतिक पक्षबाट नेपाली क्रिकेट खेलाडी निराश नै थिए ।

क्यान निलम्बन भएकै बेला क्रिकेट खेलाडीको आफ्नै बलबुताले नेपालले इतिहास रच्दै एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पायो । यसमा शक्तिको पनि ठूलो योगदान छ ।

तर, सीमित खेलाडीले पाएको यो उपलब्धी कति दिनसम्म टिकाई राख्ने ? यो प्रश्न शक्तिको दिमागमा घुमिरहेको थियो । यही प्रश्नको जवाफ खोज्दै गर्दा उनले अन्तर्राष्ट्रिय क्रिकेट करिअरबाट सन्यास लिने निर्णय गरेका थिए ।

जिल्ला, प्रदेश र राष्ट्रलाई नै नेतृत्व गर्ने क्रिकेट विकासको योजना लिएर अघि बढ्ने शक्तिको लक्ष्य छ
गत साउन १६ र १८ गते नेदरल्यान्ड्ससँग उसैको भूमिमा २ खेलको एक दिवसीय क्रिकेट सिरिज खेल्न जानुअघि शक्तिले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरे ।

शक्तिले आफु अनफिट भएर सन्यास घोषणा गरेका थिएनन् । उनको योजना र आकांक्षा अर्को थियो । उनले भने, ‘पारस, ज्ञानेन्द्र, शरद, बसन्तहरु पनि केही समयमा विदा हुन्छन् । उनीहरूको सट्टामा दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछानेलगायत अन्य खेलाडी छन्, तर जुन लेभलमा हामी माथि आउन खोजिरहेका छौं, त्यो लेभलको खेलाडी उत्पादन गर्न सकिरहेका छैनौं । के आउने ५(१० वर्षमा त्यो सम्भव छ त रु?यो सोचेर मैले सन्यास लिएको थिएँ ।’

जिल्ला, प्रदेश र राष्ट्रलाई नै नेतृत्व गर्ने क्रिकेट विकासको योजना लिएर अघि बढ्ने शक्तिको लक्ष्य छ ।

खेलाडी जीवनबाट सफल शक्ति ब्यवस्थापन र नेतृत्वकर्ताको भूमिकाबाट पनि सफल हुन चाहन्छन् । भन्छन्, आफ्नै क्रिकेट एकेडेमी मात्रै हैन कि पहिला जिल्ला, प्रदेश र राष्ट्रलाई नै सहयोग गर्ने खालको मेरो योजना छ । यसलाई म दुई वर्षभित्र कार्यान्वयनमा ल्याउने छु । फ्रेन्चाइज लिगहरू भए पनि नेपाली क्रिकेटको विकास गर्नकै लागि ग्रासरुटको कार्यक्रमहरु भएको छैन । त्यसलाई लक्षित गर्दै म वान डे क्रिकेटहरु आयोजना गर्ने छु ।’

‘एक हिसाबले यो सोचे हुन्छ कि शक्ति गौचनले क्रिकेट विकासको लागि आफ्नो खेल जीवन त्यागेको हो । खेल्ने रहर बाँकी छ, तर‘’, शक्तिले भने ।

शक्तिका दुर्लभ कीर्तिमान

सन् २०१२ मा आईसीसी विश्व क्रिकेट लिग डिभिजन फोरअन्तर्गत मलेसियाविरुद्ध शक्ति गौचनले कीर्तिमान राखेका थिए । १० ओभर बलिङ गरेका शक्तिले ८ मेडन ओभर राख्दै २ रन मात्र खर्चेर ३ विकेट लिएका थिए । जुन बेस्ट इकोनोमीको कीर्तिमान अहिलेसम्म नेपालका कुनै पनि खेलाडीले तोड्न सकेका छैनन् ।

त्यसो त, शक्तिले सिनियर टिमबाट ह्याट्रिक विकेट पनि लिएका छन् । उनले आईसीसी टी(२० छनोटको खेलमा डेनमार्कविरुद्ध ह्याट्रिक विकेट लिएका थिए ।

शक्ति ब्याटिङमा पनि त्यतिकै सशक्त थिए । उनले अहिलेसम्म २ शतक बनाएका छन् । सन् २००१ मा माल्दिभ्सविरुद्ध उनले यू(१९ टिमबाट शतक प्रहार गरेका थिए । त्यो कुनै पनि नेपाली ब्याट्सम्यानले अन्तर्राष्ट्रिय म्याचमा बनाएको दोस्रो शतक थियो । त्यस्तै, उनको नाममा सिनियर राष्ट्रिय टिममा पनि शतक छ । सन् २००५ मा इटालीविरुद्ध शक्तिले शतक बनाएका थिए ।

शक्ति गौचन त्यस्ता खेलाडी हुन्, जसले राष्ट्रिय टिमबाट सबैभन्दा पहिले १००० रन बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्