Light Nepal

प्रहरी दिवसमा गृहमन्त्री चुप, यस्तो छ मौनताको भित्रि रहस्य

काठमाडौं, २५ असोज । नेपाल प्रहरीको ६३ प्रहरी दिवसमा गृहमन्त्री रामबहादुर थापा बादलले सम्बोधन गरेनन् । प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा गृहमन्त्री मौन बसे । सुरुमा प्रधानमन्त्री ओलीले सम्बोधन गरेपछि आईजीपी सर्वेन्द्र खनालले धन्यवाद मन्तव्य राखेका थिए । उनले प्रधानमन्त्रीले बोलिसकेपछि आफूले बोल्नु सान्दर्भिक नहुने भन्दै उनले उक्त समारोहलाई सम्बोधन गरेनन् । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले नेपाल प्रहरीको प्रशंशा गरे ।

उनले राज्यको आन्तरिक सुरक्षाको मेरुदण्डका रुपमा आफूलाई स्थापित गर्दै संयुक्त राष्ट्र सङ्घको अनुरोधमा विदेशस्थित विभिन्न द्वन्द्वग्रस्त मुलुकहरुमा शान्ति स्थापना गर्नका लागि सञ्चालित मिसनहरुमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल प्रहरीले अन्तराष्ट्रिय स्तरमा समेत राष्ट्रको पहिचानलाई स्थापित गर्न सशक्त भूमिका निर्वाह गरेको बताए ।

‘सीमित स्रोत र साधनका बीच नेपाल प्रहरीले मुलुकको आन्तरिक सुरक्षामा खेलेको भूमिका प्रशंसायोग्य छ’, उनले भने । स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा प्रहरीले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउँदै प्रधानमन्त्री ओलीले प्रहरीलाई थप व्यावसायिक बनाएर अगाडि बढ्नुपर्ने उल्लेख गरे । प्रधानमन्त्री ओलीले तथ्याङ्कअनुसार प्रहरीले ९० प्रतिशत घटनाको सफलतापूर्वक ढङ्गले अनुसन्धान गरेर अभियुक्त पत्ता लगाए पनि यसलाई पर्याप्त मान्न नसकिने बताए ।

‘तथ्याङ्कले राम्रो अनुसन्धान गरेको देखाए पनि एउटा संवेदनशील मुद्दामा तपाईहरु यदि असफल हुनुभयो भने यसले पु¥याउने चोटलाई सजिलै भरपुर गर्न सकिँदैन’, उनले भने ।गृहमन्त्री रामबहादुर थापासहित महान्यायाधिवक्ता अग्नी खरेल, नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, गृहसचिव प्रेमकुमार राई तथा अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्