Light Nepal

पसलमा खाद्यान्न बेच्छन् की विष ? अनुगमनवाट देखियो यस्तो गम्भिर अवस्था

बुटवल, २५ असोज । सिद्धार्थनगर नगरपालिकाको संयुक्त अनुगमन टोलीले नगर क्षेत्रका १२ वटा खाद्य तथा किराना पसलको अनुगमन गरेको छ ।
बिहीबार अनुगमनमा पुगेको टोलीले म्याद गुज्रिएका खाद्यवस्तु तथा पेयपदार्थ नष्ट गरेको संयुक्त बजार अनुगमन समितिका संयोजक तथा नगरपालिका सामाजिक विकास शाखा अधिकृत यादवप्रसाद सापकोटाले बताए । अनुगमनका क्रममा सिनपा वडानम्बर ५ मा रहेको अशोक किराना पसल म्याद सकिएको मिरिन्डा भेटिएपछि नष्ट गरिएको सापकोटाले बताए ।

यस्तै सिनपा ८ स्थित नारायणपथको न्यू अमृत किराना पसलमा पनि म्याद सकिएको चामलको पिठो भेटिएपछि नष्ट गरिएको छ । यसैगरी वडानम्बर १२ प्रहरी टोलस्थित बाबा किराना पसलमा म्याद सकिएर पनि बिक्रीका लागि राखिएको इस्प्राइट नष्ट गरिएको नगरपालिकाका नासु केशव पौडेलले बताए । टोली ले वडानम्बर ६ का पनि खाद्य तथा किराना पसलको अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा अधिकांश पसलमा मूल्य सूचि नराखिएको, कतिपय पसलहरुले नवीकरण नगरेको, कतिपयले गुणस्तरहीन खाद्ययवस्तु विक्रीका लागि राखेको पाइएको अनुगमन समिति सदस्य एवं जिल्ला प्रशासन कार्यालय रुपन्देहीका नासु माधव पौडेलले बताए । म्याद सकिएका खाद्ययवस्तु विक्रीका लागि राख्ने, नवीकरण नगर्ने र मूल्य सूची नराख्नेलाई पहिलो पटक सचेत गराइएको अनुगमन समिति संयोजक सापकोटाले बताए । उनले पर्वका समयमा उपभोक्तालाई ठगी गर्नेलाई कारबाहीको दायरामा ल्याउने जनाउँदै पटकपटक अखाद्ययवस्तु विक्री गरेको पाइए कानूनको दायरामा ल्याउने बताए ।

अनुगमनमा उपभोक्त हित संरक्षण मंचकी सदस्य भगवती भण्डारी, सिद्धार्थ उद्योग बाणिज्य संघका सदस्य धर्मवीर शर्मा, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि तथा क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधि एवं नगर प्ररहीको सहभागिता थियो । अनुगमन समितिले चाडबाडका समयमा जथाभावी मूल्य लिई उपभोक्ता ठग्ने तथा कानूनविपरीत गर्नेलाई कारबाहीको दायरामा ल्याउने जनाएको छ । उपभोक्तालाई खरिद गर्दा आफू पनि सचेत हुने अनुरोध गरेको छ भने यदि कसैले गलत तरिकाले ठग्न खोजे अनुगमन समितिलाई खबर गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्