Light Nepal

स्कूल टाढा भएर पढ्न जान नपाएका विपन्न विद्यार्थीलाई एक सय साइकल वितरण

बुटवल, २५ असोज । गरिब, बिपन्न तथा बिद्यालयको पहुँचबाट टाढा रहेका बिद्यार्थीहरुको पढाईमा सहयोग पुगोस भन्ने उद्देश्य सहित कोरियन बौद्धिष्ट सोसाइटीले रुपन्देहीका ३ वटा विद्यालयहरुमा साइकल वितरण गरेको छ । आर्थिक अभावसँगै बिद्यालय टाढा भएका कारण अध्ययन गर्न असुबिधा भएकोले बिभिन्न बिद्यालयका कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने एक सय जना विद्यार्थीहरुलाई साइकल वितरण गरिएको हो ।

बिद्यार्थीको अध्ययनमा सघाउ पुराउने र बिद्यालय छोड्ने प्रबृतिको अन्त्य गर्ने लक्ष सहित सरस्वती माध्यमिक विद्यालय तामनगर, पर्रोहा माध्यमिक विद्यालय पर्रोहा र रामापुर उच्च माध्यमिक विद्यालय रामापुरमा साइकल बितरण गरिएको कोरियन बौद्धिष्ट सोसायटीले जनाएको छ । गरिब तथा जेहेन्दार र टाढा–टाढाबाट विद्यालय आउने छात्रछात्राहरुलाई विद्यालयसम्म आउनका लागि कठिनाई भोग्न नपरोस भन्ने हेतुले साइकल वितरण गरिएको ख्वाङ्गजु कोरियन बुद्धिज्म फाउण्डेशन नेपालका प्रवक्ता तथा उक्त कार्यक्रमका संयोजक गोपाल आचार्यले बताएका छन ।

दुरीका हिसाबले बिद्यालयबाट टाढा घर भएका, यातायातकै कारण पढ्नलाई समस्या भएका र साइकल किन्न नसक्ने अवस्था भएका कारण पनि पढाइबाट बन्चित भएका कतिपय परिवारका बालबालिकाहरूलाई लक्षित गरि हरेक वर्ष संस्थाले साइकल वितरण गर्दै आएको संयोजक आचार्यले बताए । बिगतमा कोरियामा कामदारका रुपमा बसि नेपाल फर्केका गुल्मी चिदिपानी घर भई हाल रुपन्देहीको नयाँमिल बस्ने आचार्यको सक्रियतामा हरेक बर्ष यसक्षेत्रका बालबालिकालाई पठनपाठनका सहयोग पुराउने उद्देश्यले साईकल बितरण, छात्रबृत्ति बितण, खेलकुद सामाग्री तथा अन्य शैक्षिक सामाग्रीहरु प्रदान गरिँदै आएको छ ।

नेपाल शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्मस्थल रहेको र त्यसमा पनि लुम्बिनी रहेको रुपन्देही जिल्लाका बिभिन्न बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थीहरुलाई उनिहरुको अध्ययनमा सहयोग पुराउने उद्देश्यले यसप्रकारको कार्यक्रम गरिएको सो कोरियन फाउण्डेशनका भिक्षु पारक इम सोङ्गले बताए । बुद्धको देशमा आएर सहयोग गर्न पाउँदा आफ्नो मनलाई शान्ति मिलेको उल्लेख गर्दै उनले भने– भगवान गौतम बुद्धको जन्म स्थानमा आएर उनका सन्ततीहरुलाई थोरै भएपनि सहयोग गर्न पाउँदा हाम्रो आत्माले शान्तिको महशुस गरेको छ ।

रुपन्देहीका तिन स्थानमा छुट्टाछुट्टै आयोजना गरिएको सो कार्यक्रम भबिष्यमा पनि बिभिन्न प्रकारका सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दै अर्का भिक्षु किम योङ्ग सेवले सहयोगलाई सकारात्मक रुपमा लिएर यसको सदुपयोग गर्न आग्रह गरेका थिए । सो अवसरमा काङ्ग सियो एनजिरोकका छावी सिनेङ्ग हि लगाएतले भबिष्यमा बुद्धभुमीमा थप सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन । गतबर्ष पनि सो संस्थाले तिलोत्तमा क्षेत्रका बिभिन्न बिद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई १ सय थान साईकल बितरण गरेको उक्त कार्यक्रमका समन्वयकर्ता समेत रहेका गोपाल आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्