Light Nepal

चाडपर्वमा पेट्रोलियम पदार्थको अभाव हुदैन: निगम

काठमाडौं, २९ असोज । नेपाल आयल निगमले चाडपर्वको समयमा बजारमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन पर्याप्तमात्रामा इन्धन वितरण गरिएको जनाएको छ ।

निगमको थानकोट डिपोले उपत्यकाका पेट्रोलपम्पले माग गरेबमोजिमको इन्धन उपलब्ध गराइएको जनाएको छ । डिपो प्रमुख इञ्जीनीयर भरत रेग्मीले सोमबार उपत्यकाका विभिन्न पम्पलाई ११ लाख ५० हजार लिटर पेट्रोल र सात लाख ५० हजार लिटर डिजेल उपलब्ध गराइएको जानकारी दिए ।

डिपोले आइतबार पनि पर्याप्तमात्रामा बजारमा इन्धन पठाएको थियो । आइतबार १० लाख ३८ हजार लिटर पेट्रोल र १० लाख २९ हजार लिटर डिजेल उपत्यकाका विभिन्न पम्पमा पठाइएको उनले बताए । पम्पले माग गरेबमोजिमको इन्धन उपलब्ध गराइएकाले कुनै अवस्थामा इन्धन अभाव नहुने जानकारी दिँदै उनले उपत्यकाबाट बाहिरिने सवारी साधनले पूर्ण क्षमतामा इन्धन भर्न खोज्दा पम्पमा केही लाइन देखिएको हुनसक्ने बताए ।

निगमको थानकोट डिपोले आपत्कालीन अवस्थाका लागि भन्दै १० कर्मचारीलाई तयारी अवस्थामा राखेको छ । पम्पले जनुसुकै बेला इन्धन माग गरे सार्वजनिक बिदा नभनी उपलब्ध गराइने डिपो प्रमुख रेग्मीले बताए ।

प्रतिक्रिया दिनुहोस्