Light Nepal

मल्लकालिन परम्परालाई निरन्तरता दिँदै मनाइयो कालरात्रि

पोखरा, १ कात्तिक । संरक्षणको अभावमा प्राचीन संस्कृति लोप हुँदै गइरहेको अवस्थामा पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित कोटभैरव मन्दिरमा कालरात्रि मनाइएको छ ।

प्रत्येक वर्षको आश्विन शुक्ल (दुर्गा) पक्षको अष्टमी तिथिको मध्यरातमा कालरात्रिको विशेष पूजा गरिने प्रचलनलाई यस वर्ष पनि कोटभैरव मन्दिरमा निरन्तरता दिइएको हो ।

कोटभैरव मन्दिर संरक्षण एवम् व्यवस्थापन समितिका अध्यक्ष चेतबहादुर महतकाअनुसार मन्दिरमा महाअष्टमीको मध्यरातमा कालो बोकाको बलिसहित कालरात्रिको पूजा गरिएको हो । मध्यरातमा गरिएको कालरात्रिको विशेष पूजामा १५० जना भन्दाबढीको सहभागिता रहेको उहाँले जानकारी दिनुभयो ।

“मल्लकालिन समयदेखि नै शक्ति स्वरुपा कोटभैरवको पूजाआजा भएको पाइन्छ,” उहाँले भन्नुभयो, “तत्कालिन समयदेखि नै दुर्गा पक्षको प्रतिपदाका दिन घटस्थापना गरी फूलपाती, महाअष्टमी, कालरात्रि, महानवमीको विशेष पूजासहित विजया दशमीका दिन सामूहिक टिका प्रसाद लगाउने यहाँको प्राचीन संस्कृति हो ।”

कालरात्रिका अवसरमा मन्दिरको सम्पत्तिका रुपमा रहेका शक्ति स्वरुपका प्राचीन हातहतियारको पूजासमेत गर्ने गरिन्छ । मन्दिरमा कालरात्रिको पूजामा सहभागी बनेमा विभिन्न दीर्घ रोगको समस्याबाट मुक्ति पाउनुका साथै मनोकांक्षा पूरा हुने विश्वास रहेको छ । सोहि विश्वासकासाथ कालरात्रिको पूजामा मन्दिर आसपासका बर माझथर, बर धारापानी, बरपौवा, बरपाण्डेथुम, चवादी, कुर्लिङ, पुणिटारलगायतका स्थानबाट सर्वसाधारण आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्