Light Nepal

मधेशी जनताको अधिकारको ग्यारेण्टी गर्न संविधानलाई परिमार्जन गर्दै अगाडी बढ्नुपर्छ: अध्यक्ष प्रचण्ड

काठमाडौं, ६ कात्तिक । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा आउन लागेको नयाँ युगको नेतृत्व प्रदेश २ ले गर्ने दावी गर्नुभएको छ ।

नेकपाको प्रदेश दुई कमिटीले विजयादशमी, दिपावली तथा छठ पर्वको अवसरमा गरेको शुभकामना आदान, प्रदान कार्यक्रममा नेकपा अध्यक्ष दाहालले संघिय व्यवस्थाको कार्यान्वयनको चरणमा मुलुक रहेकोले यसको नेतृत्व गर्ने क्षमता प्रदेश दुईमा रहेको बताउनुभयो । यसका लागि प्रदेश दुईलाई तयार रह्न आग्रह गर्नुभयो ।

उहाँले अहिले सबैभन्दा पिछडिएको प्रदेशको रुपमा रहेको प्रदेश दुईलाई देशकै सबैभन्दा समृद्ध प्रदेश निर्माणका लागि एकजुट हुनु आवश्यक रहेको बताउनुभयो ।

पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले राष्ट्रिय एकता बिना प्रदेश दुईको जनताको अधिकार सुनिश्चित हुन नसक्ने दावी गर्नुभयो । उहाँले मधेशी जनताको अधिकार सुनिश्चितताका लागि संविधान संशोधन आवश्यक रहेको स्वीकार गर्नुभयो ।

मधेशी जनताको अधिकारको ग्यारेण्टी गर्नका लागि संविधानलाई परिमार्जन गर्दै अगाडी बढ्नु पर्ने अहिलेको आवश्यक्ता रहेको उहाँले बताउनुभयो । काठमाण्डौलाई मधेशी जनताबाट अलग्याएर सोच्नु मधेशी जनताको इतिहाससंग धोका हुने उहाँले दावी गर्नुभयो ।

कार्यक्रममा प्रदेश दुईको मु्ख्यमन्त्री लालवावु राउतले संघिय सरकारले ऐन ल्याउन ढिलाई गरिरहेको भन्दै आलोचना गर्नुभएको थियो । जवाफमा नेकपा अध्यक्ष प्रचण्डले हतारमा कुनै निर्णय नगर्न आग्रह गर्नुभएको थियो ।

उहाँले संविधानमा संघिय ऐन आएपछि मात्रै प्रदेशले ऐन ल्याउन सक्ने व्यवस्था रहेकोले यसकालागि प्रतिक्षा गर्न समेत आग्रह गर्नुभयो । प्रदेश दुईको प्रदेशसभाले पास गरेको प्रदेश प्रहरी ऐन तर्फ इंगित गर्दै प्रचण्डले हतारमा ल्याइएको कुनै पनि निर्णय मुलुकका लागि हितकर हुन नसक्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्