Light Nepal

नवदुर्गा र नारीमा के फरक छ र सम्बन्ध के हो दुबैमा ?

सुदर्शन अधिकारी

काठमाडौं, ११ कात्तिक ।   ब्रह्मविधानको सृष्टि सञ्चालनमा नारी मुख्य नायक, मुख्य भाग हो । नारिको शरीरमा आफ्नो कर्मद्वारा ब्रह्मविधानलाई पनि परिवर्तन गर्ने क्षमता रहेको हुन्छ । त्यही क्षमता हुनाले त्यस नारीलाई स्त्री या धर्मपत्नी भनिन्छ ।

नारिले कुनै जप, तप, ध्यान, केहि गर्नुपर्दैन किनकी नारीको शरीर आफै पूर्णशुद्ध हुने र सम्पूर्ण यज्ञले सम्पन्न भएको हुन्छ। नारिले आफ्नो नारीधर्मको नियम पूर्णरूपले पालन गर्ने हो भने नारीलाई कुनै जप, कुनै तप, ध्यान केहि गर्नु पर्दैन्र प्रत्येक नारिले आफ्नो नारी धर्मको सम्पूर्ण नियमलाई पूर्णरुपले पालन गर्ने हो भने नारीलाई अश्वमेघ यज्ञको फल यसै प्राप्त हुन्छ ।

नारी धर्मलाई जिम्मेदारी पुर्बक पूरागर्ने नारीको लागि शास्त्रले माता भनेर पुकार गरेको छ त्यही हुनाले शास्त्रमा नारीलाई यज्ञ, जप, तप गर्ने निर्देश दिएको छैन । नारी शब्द नै आफै पूर्ण शब्द हो, पूर्ण हुनाले नै नारी ब्रह्मविधानको मुख्य भाग पनि हो । नारीको शरीर आफै यज्ञ, तप, जप र ब्रह्मविधानले सम्पन्न सम्पूर्ण गुण भएको एक अवस्था हो ।

नारीको शरीरमा सम्पूर्ण देबताहरुको गुणले पूर्ण सम्पन्न रहेको हुन्छ त्यसैले नारी सधै पूर्ण शान्त, मधुर बचन, ममताले पूर्ण अवस्थामा रहेको हुन्छ नारिमा यो गुण हुनु देबताको गुण सक्रिय भएको अवस्था हो ।

नारीको शरीरमा नै सम्पूर्ण आसुरीको गुण पनि पूर्णरूपले बिद्यमान रहेको हुन्छ । नारीको शरीर एक यस्तो अवस्था हो जसमा देबताको सम्पूर्ण गुण र असुरको सम्पूर्ण गुण एक ठाऊमा समान रूपले बिद्यमान रहेको हुन्छ । देबताको गुण पुर्णरूपले नारीको शरीरमा सक्रिय भएको अवस्थामा नारिले आफ्नो डुवेको परिवालाई सजिलो संग उठाउन क्षमता हुन्छ ।

नारीभित्र आसुरीगुण जब प्रबल भएको हुन्छ त्यस अवस्थामा नारिले आफ्नो सम्पन्न परिवालाई एकक्षण मै तहसनहस गर्नसक्छ।
सम्पूर्ण तरङ्ग र सङ्गीतको सम्पूर्ण बिन्यासः नारीको शरीरमा पूर्ण रूपले बिद्यमान रहेको हुन्छ । नारीको शरीर सम्पूर्ण यज्ञ बिधिद्वारा सम्पन्न भएर निर्माण भएको हुन्छ । त्यसैले नारी एक रजश्वला हुदा र त्यस रजश्वला हुदा पालन गर्नुपर्ने पूरा नियम पालन गर्ने हो भने नारिले कहिले पनि कुनै यज्ञ गर्नुपर्दैन रजश्वलाको नियम पालन गर्दा एक अश्वमेध यज्ञ गरे बराबरको कर्मको कर्मफल प्राप्त हुन्छ ।

नारी एक पूर्ण बिन्दुको अवस्था हो, नारीको शरीरमा कुनै कमी हुदैन पूर्ण सम्पन्न र ब्यबस्थित शरीर हो । संसारका जतिपनि बनावटको बिधान, आकृति, शक्ति, ध्रुब, नियम, गुण र बिधान छन ति सबै नियमको एक संग्रहीभूत अवस्था र पूर्ण गुणले सम्पन्न एकबिन्दु तथा एकशक्तिलाई नारी भनिन्छ । सृष्टिमा चल्ने सम्पूर्ण चक्रको एक प्रतिबिम्ब हो नारी । त्यही नारीलाई सम्मान गर्नको लागि एक बिधान हाम्रो समाजमा एक परम्परा र संस्कार नै चलेको छ त्यो हो नबदुर्ग पूजाको प्रणाली

एक स्त्रीको पूरा जीवनको एक जीवनचक्रको बिम्ब र प्रतिबिम्ब हो नारीको नवदुर्गाको नौ स्वरूप

जब एक कन्याले जन्मग्रहण गरेको हुन्छ कन्याको त्यस स्वरूपको अवस्थालाई ‘शैलपुत्री’ भनिन्छ ।जन्मपछि सबै शीलस्वभावमा शैलपुत्री हुने बिस्तारै कौमार्य अवस्थासम्म प्रबेश गरेको हुन्छ त्यो स्वरूपको अवस्थालाई ‘ब्रह्मचारिणी’ भनिन्छ ।

ब्रह्मचारिणी नियमदेखी विवाह पूर्वसम्म एक कन्या चन्द्रमा जस्तै निर्मल हुने भएको हुनाले त्यो स्वरूपको अवस्थामा नारीलाई ‘चन्द्रघण्टा’ भनिन्छ ।

चन्द्रघण्टाको नियमदेखी विवाह सम्पन्न भए पश्चातको ब्रह्मविधान अनुसार नयाँ सृष्टि को लागि गर्भधारण गर्नसक्ने क्षमता हुनाले त्यो स्वरूपको अवस्थाको नारीलाई ‘कूष्माण्डा’ भनिन्छ ।

कुष्माण्डा नियमदेखी गर्भधारण गर्ने र गर्भधारण पछि सन्तानलाई जन्मदिन सक्ने क्षमता हुनाले त्यो स्वरूपको अवस्थाको नारीलाई ‘ स्कन्दमाता’ भनिन्छ ।

आफ्नो सन्तानलाई जन्म दिएर सन्तानको रेखदेख र सम्पूर्ण परिवारलाई रेखदेख गर्नसक्ने क्षमता हुनाले त्यो स्वरूपको अवस्थाको नारीलाई ‘कात्यायनी’ भनिन्छ ।

सन्तानको रेखदेख र संरक्षण गर्नसक्ने क्षमतादेखी लिएर कुनै समस्या परेमा, आफ्नो पतिलाई पनि आफ्नो दृढ संकल्पद्वारा नै अकालमृत्यु हुनबाट बचाउन सक्ने क्षमता हुनाले त्यो स्वरूपको अवस्थाको नारीलाई ‘कालरात्रि’ भनिन्छ ।

आफ्नो पतिको संरक्षणको लागि मृत्यु संगपनि लड्ने क्षमतादेखी लिएर यस संसारको आफु र आफ्नो पतिको (नाता आफन्त नै उसको लागि संसार हो) उपकार गर्नसक्ने क्षमता हुनाले त्यो स्वरूपको अवस्थाको नारीलाई ‘महागौरी’ भनिन्छ ।

पतिको सम्पुर्ण कार्य सम्हाल्ने क्षमता देखी लिएर यस संसारको अन्तिम सत्य प्राप्त गरेर मृत्युलोक छोडेर स्वर्ग प्रयाण गर्नु भन्दा पहिले संसारमा आफ्नो सन्तानको सिद्धि (सुख(शान्ति) प्राप्त होस भनेर आशीर्वाद दिने क्षमता हुनाले त्यो स्वरूपको अवास्थाको नारीलाई ‘सिद्धिदात्री’ भनिन्छ ।

प्रतिक्रिया दिनुहोस्