Light Nepal

यी नेपाली चर्चित नायिका जस्का दाजुभाई छैनन् तरपनि तिहार बिशेष मनाउँछन्

काठमाडौं, २२ कात्तिक । नेपालीहरुको दोस्रो महान चाड तिहार तथा दिपावली लाई मानिन्छ । तिहार भन्नेबित्तिकै हामी झिलिमिलि, रंगीचंगी, फुलैफुल र संगीतको पर्वपनि भनेर बुझ्छौ । दाजुभाई र दिदिबहिनीको पवित्र सम्बन्धलाई अझै गाढा र चोखो बनाउने पर्वपनि हो तिहार । तिहारकापनि धार्मिक, सांस्कृतिक महत्व छन् । आज तिहारको चौथो दिन ।

काग तिहारदेखि भाइटीकासम्म पाँच दिन मनाइने यो तिहारलाई दिदीभाइ र दाजबहिनीको प्रेमको पर्वका रूपमा लिइन्छ । दिदी भाइ र दाजुबहिनीको विशेष यो पर्वको विषयमा हामीले दाजुभाइ नहुने केही अभिनेत्रीहरूलाई तिहार कसरी मनाउँदै हुनुहुन्छ भनेर प्रश्न गरेका थियौँ । जान्नुहोस्, दाजुभाइ नहुने अभिनेत्रीको तिहार कस्तो ।

पूजा शर्मा :  नायिका पूजा आमाबाबुकी एक्ली सन्तान हुन् । भीजे हुँदै अभिनयमा भित्रिएकी पूजा दाजुभाइ नभए पनि तिहार विशेष लाग्ने बताउँछिन् ।

संचिता लुइटेल : संचिता लुइटेल पनि दाजुभाइविहीन अभिनेत्री हुन् । घरमा जेठो सन्तानका रूपमा रहेकी उनका दुई बहिनीहरू सिवानी र समिता छन् । दाजुभाइ नभए पनि उनले प्रत्येक वर्षको तिहार विशेष तरिकाले मनाउने गरेकी छन् ।

यस वर्षको पनि विशेष हुने उनले सुनाइन् । काग तिहारदेखि भाइटीकाको दिनसम्म उनी निकै व्यस्त रहनेछिन् । देउसी भैलो परिवार साथीभाइसँग खेल्ने योजना बनाएकी उनको योजना भने अन्य भन्दा फरक हुनेछ । दिदीबहिनीबीच एकअर्कोलाई टीका लगाएर भाइटीका उनले मनाउने छिन् ।

उनकी बहिनी भाइटीकाको केही दिन अगाडि विदेश उड्ने भएकाले भाइटीका लगाउने केही दिन पहिले नै यस पटकको टीका लगाउने उनले सुनाइन् । त्यसो त उनले अहिलेसम्म कसैलाई दाजुभाइ नबनाएको भने होइन । केही दाजुभाइ बनाएकी छन् । ती दाजुभाइलाई टीकाको दिन उनी फोनबाटै शुभ–कामना दिने गर्छिन् ।

 

शिल्पा पोख्रेल : नायिका शिल्पाको पनि दाजुभाइ छैनन् । घरकी जेठी छोरी उनकी एक बहिनी छिन् सोनिया । दाजुभाइ नभए पनि तिहारमा उनको हात भने खाली हुँदैन । उनले निर्देशक विकाश रौनियारलाई दाइ मानेकी छिन् । भाइटीका पनि रौनियारलाई नै लगाउँछिन् । तिहारको देउँसी भैलो धेरै रमाइलो लाग्ने बताउने उनको तिहार रमाइलो गर्दै बनाउने विचार छ ।

रजनी केसी : नायिका रजनी केसी पनि परिवारकी एक्लो सन्तान हुन् । दाजुभाइ नभए पनि रजनीका लागि तिहार त्यति खल्लो भने हुने गरेको छैन । सानैदेखि घरबाट छोरा जसरी हुर्कने मौका पाएकी उनी तिहारको हरेक दिन इन्जोय गर्ने बताउँछिन् । तिहारमा रङ्गोली बनाउन, दियो बाल्न विशेष मन पराउने उनी सेलरोटीकी पारखी पनि हुन् ।

उनी दाजुभाइ नभए पनि भाइटीका लगाउने बताउँछिन् । पहिलेदेखि नै आफ्नो रिलेसन पर्ने दाजुभाइलाई भाइटीका लगाउँदै आएकी उनले बाहिर पनि केहीलाई दाजुभाइ बनाएकी छन् । दाजुभाइ भएको भए कस्तो हुन्थ्यो होला भन्ने खुल्दुली तिहारको समय जहिले पनि उनको मनमा चल्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्