Light Nepal

सफ्टबैंक मोबाइल : जसले जारी गर्दैछ एकैपटक २१ अर्ब डलरको आइपीओ

टोकियो, २६ कात्तिक (रासस/एएफपी) / जापानमा टेलिकम क्षेत्रको विशाल कम्पनी सफ्टबैंकले अर्को महिना जापानमा २१ अर्ब डलरको प्राथमिक सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । वर्षौंपछि जापानमा यति ठूलो परिमाणको सेयर निष्कासन गर्ने यो प्रविधि क्षेत्रको पहिलो कम्पनी हो । आइपीओ मार्फत सङ्कलन हुने रकमलाई सफ्टबैंकले विश्वभर फैलिएका आफ्ना कम्पनी र परियोजनामा लगानी गर्ने सफ्टबैंकले जनाएको छ । यो आइपीओ डिसेम्बर १९ मा खुल्नेछ र प्रति सेयर मूल्य १३ डलर तोकिएको छ । यो सेयर सफ्टबैंकको मोबाइल युनिटको मात्र हो ।

स्थानीय सञ्चार माध्यमका अनुसार सेयर जारी गरेपश्चात सफ्टबैंकको मोबाइल युनिटको मूल्य ७१ खर्ब ८० अर्ब जापानी येन पुग्नेछ । गत फेब्रुअरीमा नै कम्पनीले आइपीओ निष्कासन गर्ने घोषणा गरेको थियो । उक्त घोषणामा आइपीओ जारी गरेपश्चात मोबाइल युनिटमा “व्यापक व्यवस्थापकीय स्वतन्त्रता” प्राप्त हुने बताइएको थियो ।

सफ्टबैंकले सोमबार गरेको घोषणामा सेयर सूचीकरणले मुख्य संस्थापक कम्पनी एसबीजी र यसको जापानी मोबाइल युनिटको भूमिकालाई स्पष्ट गर्नेछ । “एसबीजीले विश्वभर छरिएर रहेका कम्पनीमा लगानी विस्तार गरिरहेको छ, र समूहको दूरसंचार व्यवसायका क्षेत्रमा सफ्टबैंक मुख्य कम्पनी हो,” वक्तव्यमा भनिएको छ ।

सेयर सूचीकरण पश्चात सफ्टबैंकले मोबाइल युनिटका क्षेत्रमा ६३ दशमलब १४ प्रतिशत हिस्सा ओगट्नेछ । प्रमुख कार्यकारी अधिकृत मासायोशी सोनको नेतृत्वमा सफ्टबैंकले शुरुआती दिनहरुमा सफ्टवेयरका क्षेत्रमा कार्य गरेपनि हाल लगानी कम्पनीको रुपमा अगाडि बढेको छ । सफ्टबैंकको १०० अर्ब डलरको भिजन फन्डको प्रयोग गरी सोनले हाल चल्तीका प्रविधि कम्पनीहरु उबेर, स्लाक, वीवर्क र एनभिडियामा लगानी गरेका छन् ।

यो रकमको झण्डै आधा हिस्सा साउदी अरेबियाबाट प्राप्त भएको छ, तर पत्रकार जमाल खशोग्जीको हत्या पश्चात सफ्टबैंकसँग साउदी अरेबियाको सम्बन्ध र लगानीका बारेमा प्रश्न उठ्न थालेको छ । यही महिनाको शुरुमा सोनले पत्रकार खशोग्जीको हत्याको भत्र्सना गर्नुभएको थियो तर उहाँले साउदी अरेबियासँगको व्यावसायिक सम्बन्ध यथावत राख्ने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्