Light Nepal

पत्नी सीता र गृहमन्त्रीसहित २४ जनाको समुह लिएर प्रचण्ड तातोपानीमा, ५० डिग्री सेल्सियस तातो पानीमा यसरी चुर्लुम्म डुबे

बेनी, २६ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल आफ्नी विरामी श्रीमतीको उपचारका लागि म्याग्दीको बेनी नगरपालिका ४ स्थित प्राकृतिक तातोपानी कुण्ड पुगेका छन् । प्रचण्ड पत्नी सिता नशा सम्बन्धि समस्याले थलिएकी छन् । उनी सिताको उपचारका लागि यस अघि सिंगापुर पुगेका थिए ।

प्रचण्डको परिवार संग गृहमन्त्री रामबहादुर थापा बादलको परिवार पनि तातोपानी पुगेको छ । दाहाल परिवारले म्याग्दी नदीको किनारमा मुहानबाटै निस्कने ५० डिग्री सेल्सियस तातो पानी संकलन गरिएको पोखरीमा दुई दिनसम्म स्नान गर्ने कार्यक्रम बनाएका छन् ।

उनी त्यसका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत् बिहान ११ बजे अर्थुङ्गेस्थित श्रीबक्स गुल्ममा अवतरण गरेका थिए । उनीहरु त्यहाँवाट गाडी मार्फत दिउँसो २ बजे तातोपानी पुगेका थिए ।

गाडीबाट झरेपछि उनलाई छोरी र सहयोगीले समाएर सितालाई कुण्डसम्म पु¥याएका थिए । बेनी आउने वित्तिकै दाहालले नेकपाका नेताद्वय गोविन्द पौडेल, हरिकृष्ण श्रेष्ठ लगायत जनप्रतिनिधि र नेता कार्यकर्तासँग अनौपचारिक कुराकानी समेत गरेका छन् ।

प्राकृतिक चिकित्सालयको रुपमा प्रसिद्ध तातोपानी कुण्डमा स्नान गर्दा छाला, नशा, ग्याष्ट्रिक, बाथ लगायत रोगका बिरामीलाई फाइदा पुग्ने भएकाले मानिसहरु त्यहाँ नुहाउन आउने गरेको कुण्ड व्यवस्थापन समितिले जनाएको छ । टोलीमा गृहमन्त्री बादलकी श्रीमती नैनकला थापा, छोरी र ज्वाईँ, प्रचण्डकी छोरी, स्वकीय सचिव महरा लगायत २४ जना छन् ।

कुण्डमा यसअघि नेकपाका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पूर्व अर्थमन्त्री भरतमोहन अधिकारी, नेकपा क्रान्तिकारीका नेता सिपी गजुरेल लगायत राजनितिक र प्रशासनीक क्षेत्रका उच्च तहका व्यक्तिहरुले स्नानका लागि आएका थिए ।

प्रतिक्रिया दिनुहोस्