Light Nepal

तप्सी पन्नुले अमिताभ बच्चन सरह पारिश्रमिक माग्दिन भनेपछि…

काठमाडौं, १ मंसिर । एजेन्सी – भारतीय अभिनेत्री तप्सी पन्नुले पारिश्रमिक निर्धारणमा लैगिकता प्रधान हुन नहुनेमा पक्षमा आफू रहेको बताएकी छन् । उनले पारिश्रमिकको आधार लिङ्ग नभई कुनै पनि व्यक्तिको क्षमता अनुसार हुनुपर्ने बताएकी हुन् ।

‘समान पारिश्रमिक अत्यन्त महत्वपूर्ण छ । म यसलाई समर्थन गर्छु तर अहिले म जहाँ उभिएको छु, त्यहाँ बसेर मैले मेरो यो फिल्ममा रहेका पुरूष सहकर्मीजत्तिकै पारिश्रमिक देऊ भन्न सक्दिन’, तप्सीले भनिन् । फिल्मको बजारले कुनै पनि कलाकारको पारिश्रमिक निर्धारण हुने उनको भनाइ छ ।

‘मेरा केहि पुरूष सहकर्मी कलाकारले उनीहरूले गराइदिने सुरूवाती व्यापारका आधारमा पारिश्रमिक पाइरहेका छन् । उदाहरणका लागि वरूणको नाम लिऊँ । ‘जुडुवा’ वा ‘अक्टुबर’ फिल्मका लागि उनको नामले दर्शकलाई हलसम्म लेराउने काम गर्यो । उनको नामले फिल्मका निर्मातालाई केहि दिनमा नै राम्रो कमाइको ग्यारेन्टी गरिदिन्छ । आखिरमा यो सो बिजनेस हो जहाँ तपाईं पैसा कमाउनका लागि पैसा कमाउनुहुन्छ’, उनले थपिन् ।

त्यस्तै तप्सीले अमिताभ बच्चन, अक्षयकुमार र वरूण धवनसँग काम गरें भन्दैमा अचानक आफूलाई पनि उनीहरू जत्तिकै पारिश्रमिक चाहियो भनेर भन्न नसक्ने बताइन् । ‘उनीहरू सरह पैसा चाहियो भन्न सक्दिन किनकी म उनीहरूले जत्ति दर्शक हलसम्म ल्याउन सक्दिन । जुन दिन मेरो नामले त्यो स्तरको दर्शक तान्ने चर्चा र शक्ति बटुल्छ, मेरै नामका कारण फिल्म हेर्न दर्शक आउने तथा सुरूवाती व्यापार गर्न अवस्था आउँछ त्यो दिन म बराबर पारिश्रमिकको माग गर्नेछु’, तप्सीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्