Light Nepal

एनसीसी कोरियाको भूमिका र भावी चुनौती

याम श्रीस मगर

सन १९९३ मा स्थापना भएको नेपाली सम्पर्क समितिले यहि नोभेम्बर २५ तारिख स्थापना भएको २५ बर्ष पुगेको अवसरमा रजत जयन्ती मनाउन गइरहेको छ । एनसिसिले अहिले २५ बर्ष सम्म कोरियामा के कस्ता कार्यहरु गर्यो ? नेपालमा के काम गर्यो ? कोरियामा नेपाल चिनाउने के कार्यहरु गर्यो ? ती बिषयमा अग्रजहरुबाट सिल्भर जुब्ली कार्यक्रममा अवस्य नै चर्चा होला । एनसीसीले पनि स्मारिका प्रकाशन गर्दैछ । म २००९ देखि कोरियामा कार्यरत छु । सामाजिक संस्था र गतिबिधिसँग सम्बन्ध र सरोकार राख्दै आएको छु । नेपाली सम्पर्क समितिले गरेका सबै राम्रा कामको सम्मान र नराम्रो कामको बिरोध गर्दै केहि मनमा लागेको कुराहरु राख्न चाहान्छु ।

एनसिसिले कोरियामा गरेको सामाजिक सेवा नै हो । नेपाली राजदुताबास स्थापना हुन भन्दा अगाडी सन् २००७ सम्म नेपाली राजदुताबासकै काम गर्यो । केही भएर दक्षिण कोरियामा ज्यान गुमाउनेहरु शवलाइ नेपाल पठाइदिने काम पनि यो संस्थाले गरेका अग्रजहरु बताउछन् । अझै नेपालीहरुको पासपोर्ट बनाउन र रिन्यू गर्न, अन्य आवश्यक कागजात बनाउन, तत्कालिन समयमा जापानमा रहेको नेपाली दुताबासमा समन्वय गरेर नेपालीहरुलाई ठुलो गुन लगाएको थियो । सहयोग गरेको थियो ।

एनसीसीले दक्षिण कोरियामा नेपाल चिनाउने कार्य गरेको छ । आरिराङ फेस्टीबलमा सहभागी हुने, बुद्ध प्रतिमा स्थापना अभियान चलाउने कामहरु गरेको छ । नेपालमा प्राकृतिक प्रकोप भुकम्प, बाढि पहिरो, बिरामीहरु, आगोलागी,ब्लडमनि संकलनमा समेत सक्दो सहयोग गरेको देखिन्छ। कोरियामा एन आर एनले स्थापना गरेको नेपाल हाउस संचालन र आर्थिक अभियानमा एन सि सि सह संयोजक भएर बिशेष सहयोग गरेको देखिन्छ ।

कोरियामा कार्यरत ७ दर्जन भन्दा बढि नेपाली संघ संस्थाहरु छन । सबैलाई एकत्रित, संगठित र गोलबन्द गराउने कार्य एनसिसिले गरेको छ । सबै संस्थाको साझा र छाता संस्थाको रुपमा नेपाली सम्पर्क समितिले काम गरि रहेकै छ । करिब ५ दर्जन संस्थाहरु एनसिसिसंग आवद्ध छन । बिशेष गरेर सामुहिक कार्य गर्न, एक संस्थाले अर्को संस्थालाई सहयोग गर्न, हातेमालो गर्न, पालैपालो मिलेर कार्यक्रम गर्न प्रेरित गरेको छ । कोरियामा रहेका संस्थाले कोरियाको लामो बिदा सलनाल र छुसकमा सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएका छन् । २००९ देखि सबै संस्थाले पालैपालो नजुधाई कार्यक्रम गर्न पाउनको लागी सांस्कृतिक कार्यक्रम बाँडफाँड गर्ने प्रचलन छ । हरेक ३ बर्ष पछि कार्यक्रम गर्नको लागी दाबी गर्न पाइने नियममा सहमति छ । यसलाई अहिले सम्म निरन्तरता दिइएकोछ । ५० जना सदस्य भएको सानो संस्थाले पनि कार्यक्रम गर्न पाउने कुरा प्रशंसा योग्य छ । यद्यपि बिबादबाट भने मुक्त हुन सकेको छैन एनसीसी ।

एनसीसी स्वच्छ सामाजिक संस्थाको रुपमा बचाउन भने गाह्रो भएको छ । कोरियामा राजनैतिक दलका भातृ संस्थाको सकृयता संगै हस्तक्षेपको पनि सामना गर्नु परेको छ । बिभिन्न राजनितिक दलका भातृ संस्थाले आफ्नो पार्टीका मान्छे वा आफनो अनुकुललाई नेतृत्वमा लिने होडबाजी नै छ । जसको लागी चुनाबमा डेढ दुइ करोड वन खर्च समेत गरेका छन उम्मेदवार र तिनका समर्थकले । सदस्यता शुल्कको रकम तिरि दिने, टाढाबाट आउनेलाइ बस भाडा खाना खाजाको समेत ब्यवस्था गर्ने चलनले अनावश्यक प्रतिस्पर्धा र खर्च बढिरहेको छ । चुनाबको बेलामा दुई तीन कित्तामा बिभाजन भएको नेपाली समाज चुनाव हारे पछि खुलेर बिरोध गर्ने असहयोग गर्ने गरेका छन् ।

अर्को कुरा एनसीसीलाई छाता संस्थाको रुपमा बिकास गर्न भने सकिएको छैन । आधार संस्थालाई बार्षिक रुपमा नबिकरण गर्ने, एनसीसीको आफ्नो शाखा बिस्तार गर्ने परिचालन गर्ने कुरामा समस्या देखा परेको छ । सांस्कृतिक कार्यक्रम गर्न निबेदन दिएर कार्यक्रम गर्न नपाएका संस्थाले एनसीसी मान्दैनौ भनेर हिड्ने गर्दछन् । छाता संस्थाको रुपमा हुनको लागी एनसीसी परिषद र एनसीसीको नेतृत्व संस्थागत सदस्यबाट चुनिनु पर्ने हो । तर त्यसो हुन सकेको छैन । चुनाबको बेला जसले धेरै साधारण सदस्यता बनाउन सक्छ, पैसा खर्च गर्न सक्छ उसैले नै चुनाब जितेको देखिन्छ ।

बेला बेलामा एनआरएनएसँग मर्ज गर्ने प्रश्न पनि सुनिन्छ । संसार भर सञ्जाल भएको एनआरएनए कोरियाले पनि आफुलाई सबै भन्दा ठुलो संस्थाको रुपमा उभ्याउन खोज्छ । बेला बखत एनसीसी कोरियालाइ पनि एनआरएनएमा गाभेर एउटै ठुलो संस्थाको रुपमा बिकास गरेर लैजाऔं भनेर बहस, छलफल अन्तरक्रिया चलाउछन् । एनसीसीको सम्बन्धित कार्यकालका समितिको असफताको जस पाइने डरले यो मर्ज गर्ने कार्यलाई अस्वीकार गर्दै आएका छन ।
कोरियामा भएका प्राय नेपाली संस्था न त कोरिया दर्ता छन न त नेपाल मै । यसरी कतै पनि दर्ता नभएका संस्थाको विश्वसनियता र जवाफदेहिता को हुन्छ ? भन्न गाह्रो छ । यद्यपि कतिपय संस्था नेपालमा दर्ता छन् । संस्थाको शाखाको रुपमा कोरियामा आफु भएको बताउँ छन् । शाखाको रुपमा भए पनि कानुनी प्रक्रिया भने पुर्याउन सकेका छैनन् । जस्तै संस्थाको लेखा परिक्षण गराउन, संस्था नबिकरण गर्न, सदस्यता अद्यावधि गर्न सकेका छैनन् । भीजा सकेर कोरियामै बसेकाले समेत संस्थाको नेतृत्व गरिरहेका छन् । कतिपय बेला कानुनी समस्या पर्दा स्थानिय प्रहरी प्रशासन समक्ष प्रस्तुत हुनु पर्ने अवस्थामा भने पछि हट्नु परेको छ । यस्तै समस्यामा छ एनसीसी पनि ।

संस्था कानुनी रुपमा दर्ता नभए पछि जसले जे गरे पनि हुँदो रहेछ । पछिल्लो समय एनसीसी स्वयम आर्थिक पारदर्शिताका कुरामा अड्एिको छ । यो समस्या अन्य संस्थामा पनि छन् । तर ठूलो संस्था भएकोले एनसीसी चर्चामा छ । संस्थाको रकम ब्यक्तिले खाने, खाएर नेपाल जाने, फिर्ता नगर्ने समस्या छन् । एनसीसी कै पुर्ब अध्यक्षले रकम नतिरेको समाचार बाहिर आयो । अहिले सम्म पनि न तिर्न सकेका छन् न तिराउन सकेका छन् । यसलाइ कानुनी रुपमा उजुरी गरेर निकाल्न पनि सकेका छैनन् । कानुनी रुपमा संस्था नबिकरण गर्नु पर्ने, लेखा परिक्षण गर्नु पर्ने, बार्षिक कार्ययोजना अनुसार बजेत निर्माण र खर्च गर्नु पर्ने जस्ता कर्तब्य र दायित्व पुरा गर्नु परेको छैन । जसले गर्दा संस्थाको बिश्वसनियता गुम्दै गएको छ ।

अव के गर्ने त ? प्रश्न जति सजिलो छ उत्तर गाह्रो छ । पहिलो कुरा सामाजिक संस्थामा बिना शर्त, निस्वार्थी भावनाले समाज सेवा गर्न नै आउने हो । सबै जना इमान्दार हुनु पर्यो । जति सकिन्छ काम गर्नु पर्यो । संस्थालाइ सकिन्छ भने सरकारी कानुनी मान्यता दिलाउनको लागी दर्ता गर्नु पर्यो । छाता र साझा संस्थाको रुपमा निरन्तरता दिनको लागी एनसीसी पदाधिकारी र आधार संस्थाहरुले पनि सोहि अनुसारको कार्यहरु गर्नु पर्यो । राजनितिक हस्तक्षेपबाट मुक्त बनाउन पर्यो । यसो गरे एनसीसीको शाख बढ्ला कि ? (लेखक एनसीसीका सल्लाहकार हुन् ।)

प्रतिक्रिया दिनुहोस्