Light Nepal

कोरियाबाट नेपाली युवाको पीडा-‘माफ गर नेता ज्यू जिन्दाबादले हरायो !’

जीवनमा बितेको समय सम्झेर पछुताउनेहरू मध्य म पनि एक हुँ। मानिसको जीवनमा ऊर्जाशील समयको आयु निकै छोटो हुन्छ। तपाइँहरूको त्यो समय कसरी बित्यो थाहा भएन, तर मेरो चाँहि गोलमोल पार्टीको झण्डामुनि बसेर ब्यतित गरेको तितो यथार्थले आज पश्चातापको पर्खाल ठडिएको छ। भोलिको सुन्दर भविष्यको कल्पना गर्दै अगाडि बढ्दै गरेका मेरा पाइलाहरूलाई गोलमोल नामक राजनीतिक दलको झण्डाले पुरै रोकिदीयो। आफू र आफ्नो परिवारको भविष्य बदल्न आतुर म, सिङ्गो देशको नै मुहार बदल्ने सपनाको तलाउमा डुबेकै हो। गाउँकै पढेलेखेका र बुद्धिजीवी भनिने नेताको पार्टीमा लागेर समृद्ध नेपालको सपना पुरा गर्नकै लागि म लगायत धेरै आर के पोडैलहरू तिम्रो गोलमोल पार्टीमा हुमिएका थियौँ। त्यहाँदेखि नै मेरो जीवनले मुल्य चुकाउन सुरू गरेको रहेछ।

कलेजको मेरो अब्बल पढाइ,परिवार र आफन्तहरूलाई दिने समय बिस्तारै जिन्दाबाद र मुर्दाबादमा खर्चिन थाले पछाडि नतिजा पनि उस्तै आयो। शत्रुको पनि सत्यकुरा सुन्नु पर्दछ भन्ने मेरो ज्ञानले त्यहाँ किन काम गर्न सक्थ्यो र? विपक्षीबाट आउने राम्रै कुराको पनि खुलेरै मुर्दाबाद गाउनु पर्ने परिपाटीको कारणले गुमेका मेरा आफन्तहरूलाई मैले आज करोडौँ खर्चे पनि नजिक बनाउन सक्दिन। बुबा आमाको सपनालाई जलाएर तिम्रो सपना पुरा गर्नको लागि कुनै दिन झरी वर्षा नभनेकै कारण आज आफ्नो जीवनमा पहिरो चलाएको छु।

नेता ज्यु,तिमीले बोलेका रसिला कुराहरूमा ताली हान्दा-हान्दा फुटेका यी हत्केला आज परदेशमा फुटेका छन्। देशमा भएका ठुला परिवर्तनकारी आन्दोलनहरूमा तिम्रो रक्षाको खातिर ढाल बनेर अगाडि उभिदा घाइते मेरो खुट्टामा सयौँ किलो को भार छ। झण्डाको भरमा खाएको जागिर पनि सरकार ढलेसँगै ढलेपछि विदेशिनुको विकल्प थिएन। विकल्प हुनु पनि कसरी पावर र पैसाको भरमा लत्याइएका लाखौँ सर्टिफिकेटहरूको श्राप जो भोग्नुनै थियो। देशमै केहि गर्ने सपनालाई ‘पावर’ नामक राजनीतिक भाइरसले चुसेपछाडि चाउरीएका दक्ष अनुहारहरू आजकल यतै भेटिन्छन्। समृद्धि लिन गएको श्रिमान् खालि हात आउँदा, जवानीमा एक्लै विताएका रात सम्झेर पियारीले पोख्ने आक्रोश अझै उस्तै छ। मेरा सन्तानले गुमाएको अभिभावकत्वको मुल्य आज म आफै बेचियएर पनि तिर्न सक्दिन। यी सारा चिज तिम्रो झण्डामुनिको जिन्दाबादले हराइदियो नेता ज्यु।

आमाको चोली फेरीदिन नसकेपनि तिम्रो जीवनमा कायापलट भएको देख्दा गर्व लाग्छ। आफु र आँफ्ना आफन्त लाई ‘झुपडी देखि महल सम्म’ पुर्याउने तिम्रो ग्राण्ड डिजाइन भित्र अझैपनि कैयौँ जवानहरूको जीवन लुटिएको छ। यतिखेर, तिम्रो छोरीले सरकारी सेवा सुरु गरेको समाचार मेरो छोरीले एक होटलको किचन बाट पढिरहेकी छिन्। तिमीले छोरालाई उच्च शिक्षाको लागि एयरपोर्टबाट बिदाइ गरेको दिन म खाडीको लागि बिदाइ भएको छु। जहाज चढेर नेपाल छाडेपछाडि बल्ल थाहा भयो हामी नेपालीहरूले राम्रो के हो भन्ने परिभाषा नबुझेको रहेछौँ।

सधैँ प्राकृतिक सौन्दर्यको मात्र भजन गाएर बस्ने एक नेपाली म, प्रकृतिलाई नै चुनौती दिने यहाँको विकास देखेर तिम्रो कार्यकर्ता हुनुमा घृणा बोध भएको छ। सायद शरीरमा धुवाँ र धुलोको मात्रा कमी भएर होला खाडीमा धेरै पटक बिरामी पनि हुन पुगेको छु…। टायर बालेर, गाडी जलाएर परिवर्तन खोज्ने मेरो मस्तिष्कले बल्ल इमानदारीता, लगनशीलता र दुरदर्शिताको पाठ सिकीरहेको छ। देशमा हुँदा गोलमोल पार्टी बाट सुरु हुने मेरो परिचय बल्ल एक नेपाली बनेको छ। नेता ज्यु, यतिखेर म, गगनचुम्बी महलको फेदमा बसेर तिमीले बोलेको समृद्धि सम्झिरहेको छु। अनि मेरो घरमुनिको ‘पहिला पिचैपिच अहिले ग्राभेल’भयको मोटरबाटो पनि….। तिमी राजधानी छिरे पछाडि मेरो गाउँ पुरै फेरिएको छ। अइँचोपइँचो, अर्मपर्म सबै पार्टीगत हुन्छ आजकल। पार्टी नमिलेकै कारण गुहार नपाएको सुन्दा अनौठो नमान्नु। जन्ती र मलामी जाँदा पनि झण्डा हेरेर मात्र खबर गर्नुपर्ने यो कस्तो बिऊ रोपिदीयौ ..??

प्रिय कार्यकर्ताहरू, हामी मध्य केहीको जीवन राजनितिक झण्डाले परिवर्तन गरेपनि अधिकांशको जीवन मेरो जस्तै छ। के हाम्रो जीवनको परिभाषा ताली बजाउनु मात्र हो? के हामीहरू विकास र समृद्धि नदेखेरै मर्नु पर्ने हो? पक्कै होइन, आउनुहोस् आजै बाट संकल्प गरौँ कि हामीहरू राम्रोलाई मात्र सपोर्ट गर्नेछौँ, नतिजा हेरेर मात्र ताली बजाउने छौँ। सोझासाझा जनताको उर्जा प्रयोग गरेर आफ्नो जीवनमा मात्र प्रकाश पार्ने सूत्रधारी नेताको झण्डाले भन्दा हामीलाई आफ्नै आमाको पटुकीले स्वाभिमानी बन्न सिकाउँदछ। जे भयो सबै आजसम्म लाई भयो अझै पनि अन्धोभक्त बनेर कसैको पछाडि लाग्नु भनेको गर्भबाटनै आफ्नो सन्तानलाई परदेशको भिसा लगाउनु हो। -आर के.पौडेल,बाग्लुङ्ग हाल दक्षिण कोरिया ।

प्रतिक्रिया दिनुहोस्