Light Nepal

सरकारका काम बारे धेरै गुनासा आउन थालेपछि प्रधानमन्त्री ओलीले थाले यस्तो कदम

काठमाडौं, २ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको मनोमानी र कर्मचारीको ढिलासुस्ती रोक्न सचिवमार्फत् प्रत्येक मन्त्रालयको रिपोर्ट लिन थालेका छन्। मन्त्रालयको काम कारवाही वारे जनगुनासो धेरै आउन लागेपछि प्रधानमन्त्रीले यस्तो गर्न लागेका हुन् ।

सरकारको वार्षिक नीति तथा कार्यक्रमभन्दा बाहिर गएर मन्त्री र कर्मचारीले मनोमानी गरेको र समयमै कार्य योजना पूरा नगरेको गुनासो आइरहेको छ । उनले त्यस्तो गुनासो आउन नदिन सिधै सचिवमार्फत् मन्त्रालयको कार्यप्रगति प्रतिवेदन लिने व्यवस्था सुरु गरेका हुन्।

प्रधानमन्त्रीको निर्देशनअनुसार हरेक महिनाको ७ गतेभित्र मन्त्रालयका सचिवहरुले अघिल्लो महिनाको कार्यप्रगति विवरण र कार्ययोजना प्रधानमन्त्रीलाई बुझाउने व्यवस्था गरिएको हो। मन्त्रालयबाट भएका कार्यसम्पादनमा चित्त नबुझे प्रधानमन्त्रीले सम्बन्धित मन्त्री अथवा मुख्य सचिवले सचिवहरुलाई निर्देशन दिनेछन्।

संघीय सरकारका प्रत्येक मन्त्रालयले सरकारको नीति तथा कार्यक्रम एवं वार्षिक बजेटअनुसार मन्त्रालयका वार्षिक कार्यक्रम तयार पारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई बुझाएका छन्। प्रधानमन्त्री कार्यालयले अहिले त्यसकै आधारमा मन्त्रालयहरुको कार्यप्रगति विवरण मापन गर्न सुरु गरेको हो।

कार्य प्रगति मापनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले एउटा सफ्टवेर निर्माण गरेको छ। सो सफ्टवेयरमा सबै मन्त्रालयहरुले प्रत्येक महिनाको कार्यप्रगति अपलोड गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्