Light Nepal

दिल्लीको कुख्यात वेश्यालय जीबीरोडको कालकोठरीबाट उद्दार गरिएका ८ नेपाली किशोरीहरु बेपत्ता, भारतमा रहेको नेपाली दुतावासले गर्यो यस्तो लापरवाही

नयाँ दिल्ली – भारतको राजधानी दिल्लीस्थित एउटा रेड लाइट क्षेत्रबाट उद्धार गरेर त्यहाँको सरकारी आश्रयगृहमा राखिएका ८ जना नेपाली महिलाहरू बेपत्ता भएका छन्। दिल्लीकै दिलशाद गार्डनस्थित संस्कार आश्रयगृहमा राखिएका उनीहरू त्यहीँबाट बेपत्ता भएको बताइएको छ।

गत शनिवार र आइतवार राती ती ८ नेपाली र एक भारतीय सहित ९ जना महिला आश्रयगृहबाट एकाएक हराएका थिए। भारतस्थित नेपाली राजदूताबासको चरम् लापरबाहीका कारण दिल्लीको कुख्यात वेश्यालय जीबीरोडको कालकोठरीबाट उद्दार गरिएका ८ नेपाली किशोरीहरु बेपत्ता भएका हुन्।

घर पुर्याइदिन भन्दै करिब १ वर्षदेखि हारगुहार गरिरहेका ८ नेपाली किशोरीहरुसहित ९ जना दिल्लीको दिलशाद गार्डेनस्थित संस्कार आश्रमबाट गत १ डिसेम्बरको रातमा बेपत्ता भएका हुन्।

बेपत्ता भएका नेपाली किशोरीहरुमा १६ वर्षदेखि २२ वर्षसम्मका रहेका छन्। उनीहरुमध्ये ३ जना नुवाकोटका, २ जना काभ्रेका तथा तेह्रथुम, मकवानपुर र सिन्धुपाल्चोक १–१ जना रहेका छन्।

भारतस्थित नेपाली दूतावासका प्रवक्ता हरिप्रसाद ओडारीले आश्रयगृहबाट नेपाली महिलाहरू हराएको बारे दूतावासलाई जानकारी भएको बताए। उनले भने, “हामी त्यसबारेमा सचेत छौँ र यहाँका निकायहरूसँगको सहकार्यमा उनीहरूलाई पत्ता लगाउनका लागि दूतावासले पनि काम गरिरहेको छ।”

किशोरीहरु बेपत्ता हुनुमा सबैभन्दा ठूलो कमजोरी संस्कार आश्रमको व्यवस्थापन र सुरक्षामा कमी भएको बताइएको छ। आश्रमकी एक पूर्व सिडब्ल्युसी सदस्यले यसअघि पनि आश्रमको कार्यशैलीमाथि प्रश्न उठाएकी थिइन्।

उनले आश्रमका कर्मचारीहरुमा संवेदनशीलताको कमी, किशोरीहरुसँग अनुचित व्यवहार गर्ने गरेको र त्यहाँ सुरक्षा व्यवस्था पनि फितलो भएको आरोप लगाएकी थिइन्।

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तले न्याय पाउन नसकिरहेको अवस्थामा दिल्लीको वेश्यालयबाट उद्दार गरिएका ८ जना नेपाली किशोरीहरुलाई जोगाउन राज्यको महत्वपूर्ण निकाय नै विफल भएको छ।

प्रतिक्रिया दिनुहोस्