Light Nepal

बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश

काठमाडौं, २० मंसिर । कल्चरल लिओनेसालाई हराउँदै बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । बार्सिलोनाको मैदानमा बुधबार राति भएको दोस्रो लेग खेलमा कल्चरल लियोनेसालाई ४–१ गोल अन्तरले हराएर बार्सिलोनाले अन्तिम १६ मा प्रवेश गरेको हो ।

बार्सिलोनाका लागि डेनिस स्वारेजले दुई तथा म्युनिर एल हडादी र माल्कोमले एक एक गोल गरे । लियोनेसाका लागि जोसेप सेनले एक गोल गरे । खेलको १८ औं मिनेटमा म्युनिरले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । २६ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । ४४ औं मिनेटमा माल्कोमले गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा ३–० को अग्रता बनायो ।

लिओनेसाले ५४ औं मिनेटमा गोल फर्काउँदै खेलमा फर्कने आशा जगायो । ७० औं मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ४–१ को जित दिलाए । दोस्रो लेगको फराकिलो जितसँगै बार्सिलोनाले समग्रमा ५–१ को जित निकाल्दै अन्तिम १६ को यात्रा तय गरेको हो । पहिलो लेगमा बार्सिलोनाले १–० को जित हात पारेको थियो । कोपा डेल रे अन्तर्गत नै दोस्रो लेगमा जित निकाल्दै एट्लेटिको मड्रिड, सेभिया, जिरुना, भिया रियल लगायतका क्लबले अन्तिम १६ को यात्रा तय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्