Light Nepal

आमाछोरी बिच कुटाकुट: ढोकामा लगाउने आग्लोले पहिला छोरीले आमाको घाँटी थिचिन, प्रतिकारमा आमाले पनि छोरीको घांटी थिच्दा मृत्यु

धनुषा, २० मंसिर । जनकपुरमा सुन्दै अनौठो लाग्ने घटना सार्वजनिक भएको छ । घरको काममा नसघाएको निहुँमा आमाछोरी बिच कुटाकुट भएको छ । ढोकामा लगाउने आग्लोले आमा छोरीले एक अर्कालाई प्रहार गरेका छन् ।  जनकपुर उपमहानगरपालिका –२४, सोनापाडा बस्ने ४० वर्षकी आमा राजकुमारी मण्डलले आफ्नी छोरी १६ वर्षकी छोरी सोनी मण्डल बिच यो घटना भएको हो ।

आमाले आग्लोले घाँटी थिच्दा छोरीको मृत्यु भएको छ । घटनापश्चात प्रहरीले आमा राजकुमारीसहित चारजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार घटनाको रहस्य सार्वजनिक गरेको छ ।

घटना मंसिर १२ गते भएको घटनावारे प्रहरीले २० गते विहिवार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।  अनुसन्धानको क्रममा कक्षा ८ मा अध्ययनरत सोनीले घरको काममा त्यति सहयोग नगरेको विषयलाई लिएर आमासँग पटक–पटक विवाद हुन्थ्यो । घरमा मेल नभएपछि सोनीले आफै खाना पकाएर छुट्टै खाने गरेकी थिइन् । खाना पकाउने विषयमा गएको बुधबार दिउँसो ४ बजे आमाछोरीको बीचमा विवाद भएको थियो ।

झगडाकै क्रममा छोरी सोनीले ढोकामा लगाउने आग्लो (बिलैया) ले प्रहार गरी आमाको घाँटीसमेत थिचेकी थिइन् । आमा राजकुमारीले प्रतिकारको क्रममा छोरी सोनीको घाँटी थिचिन । सोनी बेहोस भएर भूइँमा ढलिन् । यसअघि पनि झगडा हुँदा बेहोस हुने नाटक गर्ने गरेकोले यसपटक पनि नाटक गरेको आमा राजकुमारीलाई लागेको थियो । तर पछि हेर्दा छोरी सोनीको मृत्यु भइसकेको थियो । मृत्यु भएपछि आमाले अन्य दुईजना छिमेकी महिलाको सहयोगमा खाटमा राख्न लगाएको बयान प्रहरीसमक्ष दिएको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताए ।

प्रतिक्रिया दिनुहोस्