Light Nepal

अन्तरवार्ता : ‘हो अध्यक्ष ओलीसंग दुरी बढ्यो, त्यसको दुईवटा कारण छन्’ – बामदेव गौतम

काठमाडौं, २२ पुष । नेपाल कम्पुनिष्ट पार्टीका स्थायी कमिटि सदस्य तथा वरिष्ठ नेता बामदेव गौतम पार्टी भित्र निकै खरो स्वभावका नेता मानिन्छन् । आफुलाई लागेको कुरा प्रष्ट भन्ने उनको बानी छ । भर्खरै सम्पन्न भएको नेकपाको स्थायी कमिटि बैठकमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको प्रतिवेदनमा भएका भन्दा भिन्न १६ पृष्ठ लामो प्रतिवेदन पेश गरेपछि नेता गौतम फेरी एक पटक चर्चामा आए । बर्दियामा अनपेक्षित रुपमा प्रतिनिधिसभा निर्वाचनमा पराजित भएर चर्चामा आएका नेता गौतम उपनिर्वाचनमा सहभागी हुने कुराले पनि चर्चामा आएका थिए । त्यस्तै स्थायी कमिटिमा उनले राखेको फरक मतका कारण फेरी एक पटक उनी चर्चामा आएका हुन् । स्थायी कमिटि बैठकमा उनको प्रस्तुतीले पारेको प्रभावका बारेमा लाइट नेपालका लागि श्रृजना आचार्यले नेता गौतमसंग संक्षित कुराकानी गरेकी छन् ।

स्थायी समिति बैठकवाट मन माझेर निस्कनुभयो की झन मन बाझियो ?
पार्टी भित्र धेरै सुकेका घाँसपात जम्मा भएका थिए त्यसमा मैले आगो लगाउने काम गरेको हुँ । स्थायी कमिटिमा मैले मात्र होइन पार्टीको कामकारवाही प्रति गुनासो गर्दै अन्य ३० जना नेताले पनि आफ्नो भनाई राखेका थिए । यी सबै स्वभाविक प्रकृया हुन् । यसलाई अब माझेको भन्ने की बाझेको भन्ने ?

स्थायी समिति बैठकमा ३० जना नेताले तपाईले जस्तै फरक मत राखेको भन्नुभयो तर चर्चा किन बामदेव गौतमको धेरै भयो ?
वामदेव गौतम आफैमा एउटा शक्ति हो, सत्ता हो । मैले गुट बनाएर बोलेको होइन । मैले आफ्नो बिचार दिँए, धेरैले मेरो बिचारमा समर्थन गरे । केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन, पार्टीको अध्यक्ष बनाउन र तत्कालिन एमाले र माओवादीलाई एक बनाउन महत्वपुर्ण भुमिका खेलें । तर जुन विश्वास राखेर मैले भुमिका खेलेँ पार्टील,े सरकारले जनताको मन जित्ने काम गर्न सकेन ।  मैले गुट बनाइन, सहि बिचार बोल्छु । समर्थन गर्नेले समर्थन गर्छन बिरोध गर्नेले बिरोध । मैले सरकारलाई दिएको विचार फरक हो । यसलाई सुझावका रुपमा लेउ भने । मैले दिएको सुझावमा कसैले गर्न नसकेको आलोचना छ । पार्टी एकिकरण हुन नसक्नु, सरकार लोकपृय हुन नसक्नुका कारण मैले प्रष्ट राखिदिएको छु ।

पार्टी अध्यक्ष भन्दा फरक विचार दिएर तपाईले आफुलाई पार्टीमा एउटा बैकल्पीक नेतृत्वका रुपमा आफुलाई स्थापित गर्न खोजेको पनि आरोप लागेको छ नी ?
मैले दिएका कुरा सकारात्मक कुरा हुन् । मैले वैकल्पीक नेतृत्व स्थापित गर्न खोजेको होइन । वैकल्पीक नेतृत्व आफुले खोजेर हुन्न । स्थायी कमिटि बैठकमा पार्टी र सरकारको आलोचना गर्ने म मात्र होइन ३० बढी नेता छन् ।

तपाईले राखेको फरक बिचारका कारण अध्यक्ष ओली र तपाईबिच दुरी बढेको हो ?
अहिले दुरी बढ्यो । पहिले भन्दा दुरी बढ्यो । दुईवटा घटनाक्रमले अध्यक्ष र म बिच दुरी बढेको हो । बर्दियामा प्रतिनिधि सभा निर्वाचनमा मलाई अन्तरर्घात गर्ने तत्कालिन एमालेका नेताहरुलाई अध्यक्ष ओलीले प्रदेश कमिटिमा राखेका छन् । त्यतिबेला तत्कालिन माओवादीवाट १० हजार भोट तत्कालिन एमालेवाट ४ हजार भोट अन्तर्घात भएको थियो । तत्कालिन माओवादीवाट भएको अन्र्तघात थाहा भए पनि अहिले भन्दिन । तर एमालेमा भने नेतृत्ववाट नै अन्तर्घात भएको थियो । तत्कालिन एमाले नेता श्याम ढकाल र शोभा ज्ञवाली जस्ता अन्तर्घातीहरुलाई स्थानिय तहको प्रमुख बनाएर प्रदेश कमिटिमा राखेका कारण अध्यक्ष ओलीसंग पहिलो दुरी बढ्यो । बर्दियाको ३ नगर र एक गाउँपालिकामा त्यस्ता अन्तर्घातीहरु नै छन् ।

मैले पोलिट्ब्युरो र स्थायी कमिटिमा सर्वसम्मत बनाउन भुमिका खेले । म कुनै गुटमा छैन । सहिलाई सहि र गलतलाई गलत भन्दै आएको छु । अध्यक्ष ओलीले नै मलाई तपाई जस्तो मान्छे आउनुपर्छ उपनिर्वाचन मार्फत तपाई आउनुपर्छ भन्नुभयो । बैठकमा नै उहाँले कुरा राख्नुभयो । उहाँकै आग्रहमा बातावरण बन्यो । तर रामविर मानन्धर घटना पछि प्रधानमन्त्रीवाट मलाई हटाउन बामदेव गौतम गोटी बनेर आए भनेर अध्यक्षलेनै दुष्प्रचार गरेका कारण दोस्रो पटक दुरी बढेको हो । मेरो चरित्र हत्या गर्नेलाई पनि अध्यक्ष ओलीले संरक्षण गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्