Light Nepal

यूएईको आबुधाबीमा १ सय ५० जना नेपाली सहित ७ सय कामदार अलपत्र

एजेन्सी । वैदेशिक रोजगारीका लागि यूएई गएका नेपाली अलपत्र परेको खबर प्राप्त भएको छ । यूएईको आबुधाबीमा १ सय ५० जना नेपाली अलपत्र परेका हुन् । आबुधाबीको अल वासिता क्याटरिङ्ग एमीरेट्स कम्पनीमा काम गर्ने नेपाली अलपत्र परेका छन । एक सय ५० नेपाली सहित ७ सय जना कामदार अलपत्र परेका हुन् । कम्पनीका सञ्चालक जोर्डनका नागरिक युएई छोडेर भागेको र कम्पनीको व्यवस्थापकका लापरबाहीका कारण कामदारको बिचल्ली भएको हो ।

राजधानी आबुधाबीदेखि झन्डै २८ किलोमिटर टाढा रहेको मुसाफा ४० नम्बर मजदुर क्याम्पमा उनीहरु अहिले अलपत्र अवस्थामा छन् । कम्पनीमा कार्यरत नेपालसहित भारत, बाङ्लादेश, पाकिस्तान श्रीलंकालगायत देशका झन्डै ७ सय जना कामदार अहिले समस्यामा परेका हुन् ।

कम्पनीको मालिक नै भागेपछि अलपत्र परेका नेपाली सहित विदेशी कामदार पनि ‘एउटै कोठामा २१ जनासम्म बसेको पीडितले बताएका छन् । क्याम्पको दोस्रो तल्लामा तेपालीहरु बसेका छन् । क्याम्पमा बस्न नअटाएकाहरु आफन्त र साथीकहाँ शरण लिन पुगेका छन् ।

कम्पनीमा १८ महिनादेखि झन्डै ५ वर्षसम्म काम गरेका उनीहरुमध्ये धेरैले गएको ९ महिनादेखि तलब पाएका छैनन् । अलपत्रमध्ये ६४ जना १८ महिना पहिले युएई आएकाहरुले पनि ९ महिनादेखि तलब पाएका छैनन् ।

कामदार अलपत्र परेको खबर भारतीय सञ्चार माध्यममा पनि आएपछि भारतीय दुतावासले चासो देखाएको छ । क्याम्पमा पुगेर भारतीय दुतावासले दैनिक खाना खुवाउँदै आएको पीडितले बताएका छन् । भारतीय कामदारलाई आएको खाना अन्य मुलुकका कामदारले पनि बाँडेर खाने गरेको उनीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्