Light Nepal

पृथ्वीनारायण शाहको शालिक अगाडी झुकिन् राष्ट्रपति भण्डारी, श्रद्धाञ्जलीमा चढाइन् पुष्पहार

काठमाडौं, २७ पुष । आज २९७औँ पृथ्वी जयन्तीका अवसरमा आज देशभर विभन्न कार्यक्रम गरी पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबार पश्चिम मूलद्वारस्थित राष्ट्रनिर्माता पृथ्वीनारायण शाहप्रति श्रद्धाञ्जलि अर्पण गरेकी छन्। त्यस्तै नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आज आयोजित समारोहमा सरिक भई राष्ट्रपति भण्डारीले शाहको शालिकमा पुष्पहार अर्पण गरेकी छन्।

पृथ्वीजयन्तीको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानदेखि सिंहदरबारको पश्चिम गेटमा रहेको पृथ्वीनारायण शाहको शालिकसम्म पदयात्रा र र्‍याली निकालेको थियो । पृथ्वीनारायणको शालिक अगाडि राष्ट्रपति विद्या भण्डारीलाई एउटा रातो टालोमा उभिन लगाएर नेपाली सेनाले सलामी अर्पण गर्‍यो ।

विसं १७७९ पुस २७ गते गोर्खामा जन्मिएका पृथ्वीनारायण शाहले स–साना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए। तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको इतिहासविद् बताउँछन्।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा र तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले पनि उहाँप्रति श्रद्धाञ्जलि अर्पण गरे। श्रद्धाञ्जलि व्यक्त गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीलगायत विभिन्न राजनीतिक दलका नेता, साहित्यकार, कलाकार एवं समाजका विभिन्न क्षेत्रका महानुभाव सिंहदरबारको पश्चिम मूलद्वार अगाडि पुगेका थिए। समारोहमा पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकताको प्रतिकको रुपमा स्मरण गर्दै राष्ट्रिय झण्डा फहराइएको थियो भने राष्ट्रिय गान र राष्ट्रिय धुन बजाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्