Light Nepal

यातायात ब्यवस्था कार्यालयको लाजमर्दाे अवस्था : ५० प्रतिशत कर्मचारीलाई भ्रष्टाचारको मुद्धा, कामकाज ठप्प

काठमाडौं, २७ पुष । पचास प्रतिशतभन्दा बढी कर्मचारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएपछि यातायात व्यवस्था विभागको काम कारबाही ठप्प हुन पुगेको खुलासा भएको छ।

यातायात व्यवस्था विभागका महानिर्देशक लावण्य ढकालले अख्तियारले मुद्दा हाल्दा हाल्दा ५० प्रतिशत कर्मचारी सिद्धिसकेको बताएका हुन् ।
शुक्रबार संसदको विधायन समितिमा उनले घुस खाएर लाइसेन्स बिक्री गर्ने प्रचलन विगतमा रहेको बताएका हुन् ।

‘अख्तियारले मुद्दा हाल्दा हाल्दा यातायात कार्यलयका कर्मचारी सिध्दिसके, ५० प्रतिशत सिद्धिसके । तर हाम्रो नियन्त्रणको निरन्तर प्रयास जारी छ’ उनले भने । कार्यक्रममा सांसदहरुले ४० हजारमा लाइसेन्स बिक्री हुने गरेको घटना के हो भनी महानिर्देशक ढकाललाई प्रश्न गरे गरेपछि उनले यस्तो जवाफ दिएका हुन् ।

उनले देशभरका यातायात व्यवस्था विभागको कार्यालयबाट अधिकृत र उपसचिवसहित ५० प्रतिशतभन्दा बढी कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा मुद्दा चलाएपछि कर्मचारीको अभावमा विभाग कामै गर्न नसक्ने अवस्था पुगेको जानकारी दिए।

शुक्रबार संघीय संसदको विधायन व्यवस्थापन समितिको बैठकमा उनले कर्मचारी नै नभएपछि विभागले काम गर्न नसकेको पनि स्पष्ट पारेका हुन्। बैठकमा समितिका सदस्यहरुले विभागको काम कारबाही प्रभावकारी हुन नसकेको भन्दै आलोचना गरेका थिए। महानिर्देशक ढकालले विभाग मातहतका देशभरका कार्यालयहरुमा अधिकृत र उपसचिव जति सबै भ्रष्टाचारको मुद्दामा अख्तियारको मुद्दा खेपी रहेकाले काम गर्न अप्ठ्यारो भइरहेको स्पष्टीकरण समेत दिए। उनले केन्द्रमा थोरै कर्मचारी भएकाले अनियमितता गर्ने देशभरका कर्मचारीलाई निगरानी राख्ने अवस्था नरहेको पनि समितिलाई जानकारी गराए।

नेताहरुको सस्तो लोकप्रियताका कारण देशभरका यातायात कार्यालयबाट स्मार्ट लाईसेन्स वितरण गर्ने घोषणा गरे पनि त्यसका लागि आवश्यक स्रोत, साधन नहुँदा कार्य सम्पादन गर्न नसकिएको विभागले जनाएको छ। विभागका महानिर्देशक ढकालले दैनिक ७ हजार माग हुने तर चार वटा प्रिन्टरले १५ सय मात्रै स्मार्ट लाईसेन्ट प्रिन्ट गर्नु परेकाले पनि सो काममा समस्या भईरहेको बताए।

प्रतिक्रिया दिनुहोस्