Light Nepal

साहित्यकार लक्ष्मीविलास कोइरालाको ‘सिमाना खोज्दै’ उपन्यास अब बजारमा

काठमाडौं, २८ पुस । साहित्यकार एवं नेपाल सरकारका पूर्वसहसचिव लक्ष्मीविलास कोइरालाद्वारा लिखित ‘सिमाना खोज्दै’ उपन्यासको विमोचन गरिएको छ ।

ब्यूरो ८१ नेपालको आयोजनामा पृथ्वीनारायण शाहले नेपाल एकीकरणमा गरेका सङ्घर्ष र उहाँको जीवनीमा आधारित भएर लेखिएको उपन्यासको शुक्रबार लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीले विमोचन गर्नुभयो ।

कार्यक्रममा मैनालीले पुस्तकले नेपाली राष्ट्रियतालाई सुढृढ गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले उपन्यासले ऐतिहासिक पात्रलाई समेटेको बताउँदै कृति पठनीय भएको बताउनुभयो । नेपालमा यस्ता कृतिहरु जे जति निस्कनुपर्ने हो त्यो ननिस्किएको उहाँको भनाइ थियो ।

निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त नीलकण्ठ उप्रेतीले पृथ्वीनारायण शाहको योगदान समेटिएको कृति महत्वपूर्ण दिनमा बाहिर आएको बताउनुभयो । यसले नेपाली साहित्य क्षेत्रमा नयाँ आयाम थपिएको र पृथ्वीनारायण शाहलाई चिन्न पुस्तकले थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।  वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले मुलुकलाई जोगाउनका लागि पृथ्वीनारायण शाहको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

“देश बनाउने व्यक्तिलाई गौरव गर्नुपर्छ, दुर्भाग्यवश विगतको इतिहासलाई वर्तमान पुस्ताले बिर्सँदै गएको छ”, उहाँले भन्नुभयो ।
पुस्तकका टिप्पणीकार एवं साहित्यकार प्रतीक ढकालले उपन्यासले पृथ्वीनारायण शाहको शासन व्यवस्थालाई समावेश गरेकाले पठनीय भएको बताउनुभयो । पृथ्वीनारायण शाहले नजितेको भए हामी अरु कसैको दास भएर बस्नुपर्ने उहाँको कथन थियो ।

पुस्तकका लेखक कोइरालाले सम्पूर्ण पुस्तक पृथ्वीनारायणको वरिपरि घुमेको बताउनुभयो । “म इतिहासको विद्यार्थी भएको कारणले पृथ्वनारायणको इतिहास खोजेर यो पुस्तक तयार गरेको हुँ”, उहाँले भन्नुभयो । पृथ्वीनारायण शाह वास्तवमा देश एकीकरणका लागि जन्मेको हो कि भन्ने भान भएको उहाँको भनाइ थियो ।

ब्यूरो ८१ नेपालका उपाध्यक्ष रामप्रसाद भट्टराईले जागिरका दौरानमा आफ्ना लेख रचना ल्याउन नसकेका स्रष्टाले पछिल्लो समय प्रकाशन गरेर आम जनतासामु ल्याउन पाएकामा खुशी व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्