Light Nepal

अनसनरत डाक्टर केसीको समर्थनमा माइतीघरमा प्रदर्शन ‘माफियाको मिसन सिटामोलमा कमिसन’

काठमाडौं, २८ पुस । मेडिकल शिक्षामा सुधारको माग राखेर १६ औं पटक अनशन बसेका डाक्टर गोविन्द केसीको माग पूरा गर्न माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन भएको छ । ‘माफियाको मिसन सिटामोलमा कमिसन’, डाक्टर केसीको अनशन माफियालाई टेन्सन, झुरतन्त्र कहिलेसम्म माफिया छन् जहिलेसम्म’ जस्ता नारा लगाएर आज दिउँसो प्रदर्शन गरिएको हो ।

सोलिडारिटी फर डाक्टर केसी एलाइन्सको अगुवाइमा भएको प्रदर्शनमा ‘ओली सरकारको मन्त्र नागरिकलाई झुरतन्त्र’ ‘सम्झौता तोड्न पाइँदैन, माफियामुखी ऐन चाहिँदैन’ लगायतका नारा पनि लगाइएको थियो । डाक्टर केसीको माग पूरा नभएसम्म दबाबमुलक अभियान चलाइरहने उनीहरुले बताएका छन् ।

यस्तै नेपाल चिकित्सक संघले आमरण अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि विशेष पहल गर्न सरकारलाई आग्रह गरेको छ ।
सहमति र्कायान्वयनको माग राख्दै डा। केसी शुक्रबारदेखि इलाममा अनसनरत छन् । चिकित्सक संघले सहमति कार्यान्वयन गर्नुको साटो डा। केसीलाई चिढाउने गतिविधि गरेर सरकारले आफ्नो गरिमा र प्रतिष्ठामाथि आँच पुर्याएको ठहर गरेको छ ।

१६ औं पटक अनसनमा बस्दा डा। केसीको शारीरिक अवस्था अत्यन्त कमजोर रहेको र जनुसुकै बेला अप्रिय घटना घट्नसक्ने भन्दै संघका महासचिव डा. लोचन कार्कीले जीवन रक्षाका निम्ती विशेष पहल गर्न र अनसनलाई सदाका लागि अन्त्य गर्ने सुनिश्चित वातावरण तयार गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्