Light Nepal

प्रतिनिधिसभाको बैठक आज बस्दैछ, यस्ता छन् पेश गरिने मुख्य विधेयक

काठमाडौं, २९ पुस । संंघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक मध्याह्न १२ बजेका लागि बोलाइएको छ । बैठकमा शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७५’ पेश गर्नुहुने कार्यसूची छ ।

आजको बैठकमा ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, २०७५’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालले प्रस्तुत गर्नुभएको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिनेछ । गृहमन्त्री रामबहादुर थापा बादलले ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, २०७५’ प्रस्तुत गर्नुहुनेछ ।

न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले ‘नेपालको संविधान अनुकुल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५ माथि विचार गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

यस्तै, वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले ‘कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहितको संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्रा्ष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५ माथि छलफल गरियोस’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले ‘अर्थ समितिको प्रतिवेदन सहितको निवृत्तभरण कोष विधेयक, २०७५ माथि छलफल गरियोस’ र ‘निवृत्तभरण कोष विधेयक, २०७५ लाई पारित गरियोस’ भन्ने बेग्लाबेग्लै प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्