Light Nepal

रविन्द्र मिश्रको पत्रको जवाफ यसरी दिए उज्जवल थापाले, विज्ञप्ती मार्फत सार्वजनिक गरे आफ्नो धारणा

काठमाडौं, ४ माघ । विवेकशील साझाबाट फुटेको विवेकशिल नेपाली दलले डा गोविन्द केसीको अनसनका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गरेको छ । सो पार्टीले विज्ञप्ती जारी गर्दै डा केसीसंग सरकारले गरेको सम्झौतामा सरकार गैर–जिम्मेवार बनेको आरोप लगाएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै दलले अघिल्ला सत्याग्रहका बेला डा। केसीसँग गरेको सम्झौता कार्यान्वयन नगरेका कारण यो अवस्था आएको टिप्पणी गरेको छ ।

‘आज डा केसीको अनशनको दशौँ दिन पुगिसक्दा पनि सरकारका तर्फबाट उहाँको जीवन रक्षाका लागि कुनै पहल नहुनुले सरकारको चरम गैर–जिम्मेवारीपन र संवेदना विहीनता देखाउँछ’, दलको विज्ञप्तिमा भनिएको छ, ‘डा केसीले उठाउनुभएका स्वास्थ्य सेवा र चिकित्सा शिक्षा क्षेत्र सुधारका मुद्दाहरुमा समेत सरकारको ध्यान पुगेको देखिंदैन जबकि ती क्षेत्रको विकास र सुधार राज्यकै जिम्मेवारीको कुरा हो ।’

यससँगै विज्ञप्तिमा हालै खोज पत्रकारिता केन्द्र (खोपके)ले विदेशमा शङ्कास्पद लगानी गर्ने नेपालीहरूको खोजबिन गर्ने क्रममा ज्युरिकको स्विस नेसनल बैङ्कमा मात्र ५२ अर्बभन्दा बढी रकम नेपालीको नाममा रहेको भेट्टाएको विषयमा पनि दलले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘भ्रष्ट्राचार विरोधी अभियानमा निरन्तर लागेका हिसाबले हामी यस खोजविनमा उल्लेख्य काम गरेकोमा खोपके– नेतृत्व लाई धन्यवाद दिन चाहान्छौं । स्विस बैङ्कमा जम्मा रकमको अझै मिहिन छानबिन गरी सत्य तथ्य बाहिर ल्याउन नेपाल सरकारसमक्ष जोडदार माग गर्दछौं’ दलको विज्ञप्तिमा भनिएको छ, ‘विदेशमा लगानी गरेका भनिएका नेपालीहरूका बारे पनि आवश्यक छानबिन गरी कानुन बमोजिम कारबाहीको लागि माग गर्दछौं ।’
यस अघि विवेकशिल साझा पार्टीका संयोजक रविन्द्र मिश्रले उज्जवल थापालाई सम्बोधन गरेर लामो पत्र लेखेका थिए । उनले सामाजिक सञ्जाल फेसवुक मार्फत थापालाई पत्र लेखेका थिए । थापाले पार्टी फुटाएर अर्कै दल दर्ता गरेपछि आफ्नो धारणा सार्वजनिक गर्दै मिश्रले थापाका नाममा पत्र लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्