Light Nepal

इंग्लिस प्रिमियर लिग फुटबल: लिभरपुल शीर्ष स्थानमा उक्लियो

काठमाडौं, माघ २७ । लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा बर्नमाउथलाई ३–० गोलअन्तरले पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो ।

घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन साडियो माने, जर्जियो विजनाल्डम र मोहमद सलाहले एक–एक गोल गरे ।

यस्तै गएराति नै भएका अन्य खेलमा आर्सनल, म्यानचेस्टर युनाइटेड, कार्डिफ सिटी, बर्नले र वार्टफोर्ड पनि विजयी भएका छन् ।

आर्सनलले हडर्सफिल्ड टाउनलाई २–१ गोल अन्तरले हराएको हो । आर्सनललाई जित दिलाउन एलेक्स इओबी र एलेक्जेन्डर लाकाजेट्सले एक एक गोल गरे । हडर्सफिल्डले एक गोल आत्मघाती उपहार पाएको थियो । आर्सनलका सिड कोलासिनाचले आत्मघाती गोल गरे ।

प्रिमियर लिग अन्तर्गत अर्को खेलमा एभर्टन वाट्फोर्डसँग १–० ले पराजित भयो । त्यस्तै कार्डिफ सिटीले साउथ ह्याम्पटनलाई २–० ले हराउँदा वेष्ट ह्याम र क्रिस्टल प्यालेसले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

त्यस्तै बर्नलेले ब्राइटनलाई ३–१ ले पराजित गरेको छ । यसअघि भएको खेलमा म्यानचेस्टर युनाइटेडले फूलह्याममाथि ३–० गोलअन्तरको जित हात पारेको छ । अन्तरिम प्रशिक्षक ओले गुनरलाई नियुक्त गरेपछि लगातार अपराजित यात्रा कायम राखेको यूनाइटेडको जितमा पौल पोग्वाले दुई तथा एन्थोनी मार्सिएलले एक गोल गरेका थिए ।

गएरातिका खेलपछि ६५ अंकसहित लिभरपुल तालिकाको शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ६२ अंक छ भने ५७ अंकसहित टोटनह्याम तेस्रो, ५१ अंकसहित म्यानचेस्टर युनाइटेड चौथो र समान ५० अंकसहित चेल्सी र आर्सनल क्रमशः पाँचौं र छैठौं स्थानमा छन् ।

प्रिमियर लिगअन्तर्गत आज राति टोटनह्याम र लेस्टर सिटी तथा म्यानचेस्टर सिटी र चेल्सी भिड्दै छन् ।

प्रतिक्रिया दिनुहोस्