Light Nepal

प्रचण्डले गरे खुलासा ‘संविधान संशोधन गर्न हस्ताक्षर गरिसकेको छ’

काठमाडौं, २८ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेसी जनताको आवश्यकता अनुसार संविधान संशोधन हुने बताएका छन् ।

सोमबार सिराहामा भएको एक कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री केपी ओली, आफू र उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले मधेसी जनताको आवश्यकता अनुसार नै संविधान संशोधन गर्न हस्ताक्षर गरिसकेको बताएका हुन् ।

‘मधेसी जनताको हक अधिकारमा कम्युनिष्ट पार्टीले ध्यान कम दिन्छ कि भन्ने भ्रम छ । त्यसो होइन,’ दाहालले भने, ‘मधेसको विकास गर्ने, संविधान संशोधन गर्ने काम यो कम्युनिष्ट पार्टीले नै गर्छ ।’

मधेसी जनताको पक्षमा हुनेगरी संविधान संशोधन गर्न पार्टी एक हुनु अघिदेखि नै आफूले लगातार पयत्न गर्दै आएको प्रचण्डको जिकिर छ ।

‘मधेसी जनताको पक्षमा एकीकृत पार्टी पनि छ,’ उनले भने । नागरिकताको समस्या सदाका लागि अन्त्य गर्ने गरी छलफल भइरहेको उनले बताए ।

‘नागरिकता मधेसको समस्याको रुपमा अब रहने छैन,’ उनले भने । स्वास्थ्यचौकी भवन उद्घाटन गर्दै दाहालले स्वास्थ्यचौकीमा आवश्यकताअनुसार चिकित्सक राख्न पहल गर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्