Light Nepal

भारतमा लास भेटिएका दुई नेपाली युवतीको सुसाइड नोटः ‘पापा ममी’ बाँच्नुको अर्थ देखेनौं !

काठमाडौं, २८ माघ । आइतबार भारतको रुक्सौलको रेल लिगमा मृत अवस्थामा फेला परेका दुई जना युवतीको ‘सुसाइड नोट’ फेला परेको छ ।सिमावर्ती भारतको रेलको लिगमा शव फेला परेका नेपाली युवतीहरुले लेखेको सुसाइड नोट फेला परेको हो । उनीहरुले आफ्ना आमा बुवालाई सम्बोधन गर्दै लेखेको सुसाइड नोट प्रहरीले अनुसन्धानका क्रममा फेला पारेको हो ।

पर्साको कलिकामाई गाउँपालिका–२ भेडिहारी बस्ने निभाकुमारी साह र हरिहरपुरकी किरण चौरसियाको सिमावर्ती भारतीय वजारमा रेलको लिगमा शव फेला परेको हो । उनीहरुले बाबुआमालाई सम्बोधन गर्दै एउटा पत्र लेखेको प्रहरीले अनुसन्धानका क्रममा फेला पारेको हो ।

पर्सा प्रहरीले बरामद गरेको सुसाइड नोटमा आफूहरुले आत्महत्याको निर्णय गरेको उल्लेख छ । उनीहरुले बाबुआमालाई आफूले धेरै माया गर्ने उल्लेख गरेका छन् । दुई मध्य एक जनाको भने विवाहका लागि फुलमाला गरिसकिएको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रेवती ढकालले प्लस टुमा अध्ययनरत किशोरीहरु बस्दै आएको डेराबाट सुसाईड नोट फेला परेको बताए ।

सुसाइड नोटमा ‘यसमा कसैको दोष छैन, हामीले संसारमा बाँच्नुको कुनै अर्थ देखेनौं, हामीले तपाईहरुको सपना पूरा गर्न सकेनौं, आई लभ यु पापा, आई लभ यु ममी’ जस्ता कुराहरु लेखिएको छ ।

भारतीय प्रहरीले घटनास्थलबाट फुटेको अवस्थामा मोबाइल फोन र निभाकुमारीको वीरगञ्ज पब्लिक स्कूलको कक्षा ११ को परिचयपत्र फेला पारेपछि उनीहरु नेपाली भएको खुलेको थियो ।

दुवै जना वीरगञ्ज पब्लिक स्कूलका कक्षा ११ का विद्यार्थी हुन् । उनीहरु भाडाको घरमा सँगै बस्दै आएका थिए । प्रहरीका अनुसार मृतकमध्ये किरणको विवाहका लागि केही दिनअघिमात्र टिकोटालो भएको थियो ।

सुसाइड नोटलाई टिकोटालोमा किरणले पाएको घडीले थिचेको अवस्थामा प्रहरीले भेटेको छ । उनले आफ्नो विवाहका विषयमा परिवारसँग कुनै असहमती जनाएकी थिइनन् ।

निभाको रेलले टाउको नै छिनाएको छ । किरणको खुट्टा छिनाएको अवस्थामा शब भेटिएको छ । प्रहरीले उनीहरुको विषयमा थप अनुसन्धान भइरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्