Light Nepal

होस्टलवाट दुई छोराछोरी सहित घर फर्केकी महिलाको शव फेला पर्यो, छोराछोरी बेपत्ता

सोलुखुम्बु, ७ फागुन । होस्टलमा पढ्दै आएका छोराछोरीलाई घर लिएर हिडेकी आमाको शव फेला परेको छ भने छोराछोरी अझै बेपत्ता छन् । खुम्बु पासाङ ल्हामू गाउँपालिकाकी मिङमा याङजी शेर्पाको शव फेला परेको हो भने उनका छोराछोरी बेपत्ता छन् । शेर्पाको शव जोरसल्लेस्थित दूधकोशी नदीको किनारमा सोमबार साँझ फेला परेकोे प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार सोमबार बिहान ७ः३० बजे खुम्बु पासाङ ल्हामू गाउँपालिका–७, मा रहेको एक होस्टलमा बसेर पढ्दै आएका दुई छोराछोरीलाई उनले घर लिएर आउँदै थिइन् । कक्षा ४ मा अध्ययनरत ११ वर्षीया छोरी ङिमा डोमा शेर्पा र ७ वर्षीय छोरा कुङ्गा दोर्जी शेर्पालाई ३६ वर्षीय आमा मिङ्मा याङजी शेर्पाले होस्टलवाट लिएर घरका लाििग हिडेकी थिइन् ।

तर तिनै जना घर नपुगेपछि परिवार र प्रहरीले उनीहरुको खोजी सुरु गरेको हो । खोजी गर्नेक्रममा दूधकोशी नदीको किनारमा आमा मिङ्मा याङजी शेर्पाको शव फेलाको प्रहरीले जनाएको छ ।

नदीको किनारमा बच्चाको चप्पल र कपडासमेत फेला परेको छ । उनीहरुको खोजीका लागि प्रहरी निरीक्षक देउप्रसाद लिम्बूको कमान्ण्डमा ९ जनाको प्रहरी टोली खटिएको छ ।

नदीको आसपासमै बच्चाको कपडासमेत फेला परेकाले नदीमा खोजतलास भइरहेको प्रहरीले बताएको छ । मृतक मिङ्मा याङजी शेर्पा खुम्बु पासाङ ल्हामू गाउँपालिका–४, फोर्चेमा होटल सञ्चालन गर्दै आएको स्थानीयले बताएका छन् । घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्