Light Nepal

धनुषामा ११ वर्षीया बालिका बलात्कार प्रकरण : अभियुक्तले भने, फ्रुटी दिएर बालिका फकाए, उखुबारीमा लगेर बलात्कार पछि घाँटी थिचेर माँरे अनि लाश जलाए

काठमाडौं, ७ फागुन । धनुषाको मिथिला ३, मगर टोलमा बलात्कारपछि हत्या गरिएकी ११ वर्षीया बालिका रेश्मा भनिने दुतिया रसाइलीको घटनामा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ परेका अभियुक्तले घटना स्वीकार गरेका छन् ।

धनुषाको बटेश्वर ४ बस्ने ‘हाम्ली डन’ भनेर चिनिने निरज जर्घामगरलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । गत फागुन २ गते मिथिला नगरपालिका–३ हरीहरपुर, मगर टोलमा मौले कामीको उखुबारीमा नग्न अवस्थामा आधा जलेको बालिकाको शव फेला परेको थियो ।

त्यो शव स्थानीय देवनारायण रसाइलीकी बोल्न नसक्ने छोरी रेश्मा भनिने दुतिया रसाइलीको रहेको पहिचान परिवारका सदस्यले गरेका थिए । बोल्न नसक्ने अपाङ्गता भएकी बालिका रसाइलीको शव भेटिएलगत्तै प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त टोलीले अनुसन्धान थालेको थियो ।

प्रहरीले भारतीय सीमा क्षेत्रमा लुकिछिपी भाग्न लागेको अवस्थामा दुहबी टोलबाट मगरलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेपछि प्रहरीलाई बयान दिने क्रममा उनले थप चार जनाको नाम लिएर सामूहिक बलात्कारपछि हत्या गरेको प्रहरी सामु स्वीकार गरेका छन् । तर, अनुसन्धानका क्रममा उनले नाम लिएका व्यक्तिहरुको संलग्नता नरहेको खुलेको प्रहरीले दाबी गरेको छ ।

उनले प्रहरीलाई दिएको बयानमा आफुले बलात्कार पछि घाँटी थिचेर हत्या गरेको र उँखुको पात शव माथि राखेर जलाएको बताएका छन् । यस्तो छ उनले दिएको घटना बिबरण

गत बुधबार मगरको मामाघर मिथिला(३ मा इन्द्रबुर्जा मगरको छोरीको विवाह भोज राखिएको थियो । भोजमा मृतक बालिका पनि सहभागी थिइन् । भोज पश्चातको नाचगानमा सहभागीहरु सरिक भए ।

त्यसबीच त्यहाँ बिजुलीको लाइन काटिन्छ र किशोर(किशोरीबाहेक अधिकांश तितरवितर हुन्छन् । केही घरतिर लाग्छन् । त्यही मौका पारेर रक्सी, लागूऔषध ट्याबलेट र गाँजासमेत सेवन गरेका अभियुक्त मगरले रसाइलीमाथि नजर लाउँछन् ।

उनले नजिकैको किराना पसलमा चाउचाउ र फ्रुटी पनि किनिदिन्छन् । त्यसपछि फकाएर खोलाको बाटो हुँदै उत्तरतर्फ करिब दुई सय मिटर उत्तरपश्चिमतिर रहेको उखुबारीमा लैजान्छन् ।

अनुसन्धान अधिकारीहरुका अनुसार त्यहीँ मगरले बालिकाको जबरजस्ती करणी गर्छन् । र, पोल खुल्ने डरले घाँटी थिचेर हत्या गर्छन् । त्यतिले मात्रै उनी आफूलाई सुरक्षित महसुस गर्दैनन्, शवमाथि उखुको सुकेको पात, बालिकाको कपडा र चप्पल राखेर आगो लगाउँछन् ।

आगो लाग्न थालेपछि उनी त्यहाँबाट निस्किएर पुनः विवाह घरमा गएर नाचगानमा सरिक हुन्छन् । र, मामा घरमा गएर सुत्छन् । भोलिपल्ट बिहान हत्याको हल्लाखल्ला भएपछि उनी आफैं हेर्न जान्छन् । त्यसपछि मामाघर फर्किए, अनि गाउँबाट भागे ।

प्रतिक्रिया दिनुहोस्